
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको विजेता विद्यालय मात्र यस प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीहरूसँगै सम्बन्धित जिल्लाबाट छनोट गरिएका अतिरिक्त चार जना उत्कृष्ट खेलाडीलाई समेत टोलीमा समावेश गर्ने अवसर प्रदान गरिएको संघले जनाएको छ । जिल्लाभित्र रहेका प्रतिभावान खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास संघले लिएको छ ।
प्रतियोगितामा कास्कीबाट डायमण्ड सेकेन्डरी स्कूल, नवलपुरबाट भिमसेन आदर्श माध्यमिक विद्यालय, स्याङ्जाबाट भगवती माध्यमिक विद्यालय तथा पर्वतबाट मंगलोदय माध्यमिक विद्यालयको सहभागिता रहेको छ । लीग चरणका खेलहरू जेठ २२, २३ र २४ गते सञ्चालन हुनेछन् भने फाइनल खेल जेठ २५ गते हुनेछ। पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ।
प्रतियोगिताको विजेता टोलीले आगामी असारको पहिलो सातादेखि काठमाडौंमा आयोजना हुने राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप मा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछ। साथै, यस प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट चार खेलाडीले पनि विजेता विद्यालयको टोलीबाट राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर प्राप्त गर्नेछन्।
प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। साथै, जिल्ला स्तरीय प्रतियोगितामा सहभागी भई यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका खेलाडीहरूलाई समेत प्रतियोगितामा सहभागी हुन अनुमति दिइएको आयोजकले जनाएको छ।
विद्यालयस्तरमै क्रिकेटको आधार बलियो बनाउने, ग्रासरुट तहका प्रतिभाको पहिचान तथा विकास गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि सक्षम टोली निर्माण गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघले जनाएको छ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…