जलन यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार १ गते २०८३ मा प्रकाशित


पोखरा-नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा पोखरामा आयोजित दोस्रो नेपाल यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा लेखनाथ डोजो मुआथाई क्लबका जलन पुन च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सवमा समावेश गरिएको मुआथाई च्याम्पियनसिपमा उनले आफनै क्लबका कुशल नेपालीलाई पराजित गर्दे च्याम्पियन बनेका हुन् । जलनले २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भए ।

यूथ १८–२३ वर्षअन्तर्गत ६३–६५ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा ओर्ला फिटनेस पोखराका सुमन जिसी र स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका विश्वास पौडेल तृतीय भए। कुशलले १० हजार र सुमन र विश्वासले ५(५ हजार रुपैयाँ हात पारेका छन् ।

यूथ १४–१५ वर्ष ५०–५३ केजी तौल समूहमा स्ट्रोङ्गेष्ट मुआथाई क्लब वालिङका सुरेश सार्की प्रथम भए भने स्ट्रोङ्गेष्ट मुआथाई क्लब पोखराका राजन घर्ति मगर द्वितीय बने। निर्जल गुरुङ र साम्यूल श्रेष्ठले तृतीय स्थान हासिल गरे । यो समुहको प्रथमले १० हजार,द्वितीयले ७ हजार र तृतीयले ४(४ हजार नगद हात पारे ।

यूथ १६–१७ वर्ष ५३–५५ केजीमा आयुष ह्योल्मो प्रथम तथा करण तामाङ द्वितीय भए। प्रथमले १० हजार,द्वितीयले ७ हजार नगद हात पारे । त्यस्तै ५७–६० केजी तौल समूहमा राहुल कार्की प्रथम, टेरेन्स थापा मगर द्वितीय तथा भास्कर गुरुङ र अभिषेक श्रेष्ठ तृतीय बने। प्रथमले २० हजार,द्वितीयले १० हजार र तृतीयले ५(५ हजार नगद हात पारे ।

महिला यूथ १६–१७ वर्ष ५०–५३ केजीमा जोरिना राई प्रथम तथा स्नेहा खत्री द्वितीय भइन्। प्रथमले १० हजार,द्वितीयले ७ हजार नगद हात पारे । यूथ १८–२३ वर्ष ५०–५३ केजीमा अञ्जन श्रेष्ठ प्रथम, मन्दिप क्षेत्री द्वितीय तथा प्रवेश कुलुङ राई र चिरञ्जिवी छन्त्याल तृतीय भए। प्रथमले १० हजार,द्वितीयले ७ हजार र तृतीयले ४(४ हजार नगद हात पारे ।

त्यसैगरी ५५–५७ केजी तौल समूहमा हेमन्त वोगटी प्रथम, दिप्सन गुरुङ द्वितीय तथा स्वदेश पौडेल र सोनम थापा तृतीय बने। प्रथमले १० हजार,द्वितीयले ७ हजार र तृतीयले ४(४ हजार नगद हात पारे ।

प्रतियोगितासँगै आयोजित प्रोमोशनल फाइट्समा जुनियर छात्रा ९–११ वर्षमा लिलियन गुरुङ, जुनियर छात्र ९–११ वर्षमा डियर थापा मगर, महिला १८–२३ वर्ष समूहका प्रतिस्पर्धामा निशा थापा, प्रिसा श्रेष्ठ र कृष्मा आचार्य तथा छात्र १२–१३ वर्षमा आयान घर्ति मगर विजेता बने। जेठ ३० र ३१ गते पोखरामा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न क्लबका खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

विजेता खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मुआथाई प्रशिक्षक दीपक श्रेष्ठ, नेपाल राष्ट्रिय मुआथाई संघका केन्द्रीय उपाध्यक्ष तथा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार लगायतले पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।

प्रतियोगिताले नेपाली मुआथाई खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। खेल महोत्सवमा कुल ११ वटा खेल समावेश गरिएको छ ।