फुटबल संघमा व्यक्तिगत ईगोपन, अब सक्षम नेतृत्वको खाँचो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २८ गते २०७४ मा प्रकाशित


धन बस्नेत,पोखरा, २८ पुस- कास्की जिल्ला फुटबल संघ यतिबेला अधिवेशनको संघारमा छ । माघ २ गते अधिवेशन बोलाउने पत्रचार समेत गरिसकेको छ । अधिवेशनकै पुर्वसन्ध्यामा फुटबल संघको पुर्वअध्यक्षदेखि सल्लाहाकार समेतको उपस्थितिमा फुटबल विकासको लागि छलफलको लागि बोलाईयो । छलफलमा कास्की जिल्ला फुटबल संघको ऋणमुक्त हुदैं अधिवेशनमा जानुपर्ने निष्कर्ष निस्कयो । ऋण तिर्नुपर्ने आवाजप्रति भने बर्तमान कार्यसमितिले खासै चासो नदिएपनि फुटबल संघका उपाध्यक्ष मिलन गुरुङले संघको ऋण कार्यसमितिले दामासाहीले तिर्नुपर्ने बताए । ‘फुटबल संघम मैले मात्रै गरेर ऋण बोकाएको होईन् । मिटिङमा बोलाउँदा कार्यसमितिका साथीहरु उपस्थिति हुदैंनन् ।’ उनले शुक्रबार छलफलमा भने—‘सबैले बेवास्ता गरे । कतिले राजीनामा दिएर पन्छिए । राजीनामा दिएर छोडेको अवस्थामा ततेरेर यहाँसम्म ल्याएका हौं ।’

कास्की जिल्ला फुटबल संघ ओरालो लागेको छ । सबल नेतृत्वको खाँचो छ । बर्तमान ऋणात्मक अवस्थाले नेतृत्व लिन आनाकानी समेत हुन थालेको छ । उपाध्यक्ष गुरुङले ऋणको भार नयाँ कार्यसमितिलाई नथुपार्ने भन्दै कार्यसमितिले ऋण तिर्न अस्वीकार गरे आफैंले तिर्ने बचन समेत दिए । उनका अनुसार संघलाई पाँचलाख ऋण भएको स्वीकार गरे । ऋण भएपनि कार्यसमितिको बैठक बस्न नसक्दा हिसाबकिताब सार्वजनिक गर्न नसकिएको स्पष्ट पारे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले फुटबल संघले ऋण मुक्त नगरी गरिएको अधिवेशन स्वीकार गर्न नसकिने बताए । अध्यक्ष गुरुङको अभिव्यक्तिले भने कास्की जिल्ला फुटबल संघ ऋणमै भएपनि सम्पन्न भएको अधिवेशनलाई मान्यता दिन्न भन्नुको औचित्य नै छैन् । उनको क्षेत्राधिकारभित्र नै पर्दैन् । संघभित्र व्यक्तिगत ईगोपनले पनि समस्या सृजना गरेको मात्रै नभई अस्थित्व नै स्वीकार गर्न नसक्दा एन्फा चरम संकटग्रस्त हुर्दै गयो ।

बर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यले पोखरा रंगशालामा आयोजित कुनैपनि फुटबल प्रतियोगिताप्रति चासो नै दिएनन् । जिल्ला लिग, कोकाकोला कप, क्षेत्रीय कोकाकोला लगायतका गतिविधिप्रति सिमित कार्यसमितिका व्यक्तिको उपस्थितिमा मात्रै प्रतियोगिता टुग्याईएको थियो । संघको अध्यक्ष र उपाध्यक्ष एक खेमा र सचिव र कोषाध्यक्ष अर्को खेमा भएकोले पनि एकले अर्कोले गरेको गतिविधिप्रति बेवास्ताले नै कास्की जिल्ला फुटबल संघ दुराबस्थामा गएको स्वयं कास्की जिल्ला फुटबल संघका सदस्यहरु नै स्वीकार्छन् । मनकामना कपदेखिको हिसाबकिताब पारदर्शी हुन सकेको छैन् । तत्कालिन प्रतियोगिताको संयोजकले समेत आयव्ययलाई दुरुस्त पार्ने काम नगरेको समेत गुनासो उठ्यो ।

व्यक्तिगत हावीले पनि संघलाई घाटा पुर्याएको छ । ओरोलो लागेको फुटबल संघलाई फेरी व्युँताउन अग्रजले नेतृत्व गर्नुपर्ने आवाज उठ्यो । कास्की जिल्ला फुटबल संघका पुर्व अध्यक्ष खेमबहादुर गुरुङलाई फेरी नेतृत्व दिनुपर्ने एउटा खेमाबाट आवाज उठेको छ । यद्यपी उनी पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष हुन् । अर्को तर्फ संघका सल्लाहाकार टिका कार्कीलाई नेतृत्व दिनपर्ने आवाज पनि । संघको अधिवेशन नजिकिदैं गर्दा बर्तमान उपाध्यक्ष मिलन गुरुङ अध्यक्षको दावेदारी भनिरहेका छन् । सचिव शिव गुरुङ(माया)ले पनि अध्यक्ष बन्ने मुडमा छन् ।

छलफलमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, संघका सल्लाहाकार टिका कार्की, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिलबहादुर गुरुङ लगायतको उपस्थिति थियो । उनीहरुले पोखराको फुटबल विकासमा संघलाई सक्षम नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिए ।