स्पोर्टस अवार्डबाट ७ लाख ७१ हजार बचत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १० गते २०८३ मा प्रकाशित


पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले दशौं पोखरा स्पोर्टस अवार्डबाट सात लाख ७१ हजार रुपैयाँ बचत गरेको छ । गत बैशाख ३१ गते पोखराको इभेण्ट सेन्टरमा आयोजित प्रदेशकै उत्कृष्ट स्पोर्टस अवार्डबाट मञ्चले ७ लाख रुपैयाँ बचत गरेको आईतबार सार्वजनिक गर्यो ।

मञ्चले स्पोर्टस अवार्डबाट विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था तथा व्यक्तिविशेषबाट ३४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो । अवार्ड कार्यक्रममा मञ्चले सत्ताईस लाख रुपैयाँ खर्च गरेको आयव्यय विवरण सार्वजनिक गर्यो ।

अवार्ड कार्यक्रमलाई विशेष गरी प्रदेश खेलकुद परिषद गण्डकीले करकट्टासहित ४ लाख ७४ हजार, पोखरा महानगरपालिकाले ४ लाख ८६ हजार, खल्ती आईएमई भोटिङबाट ६ लाख ३६ हजार आम्दानी भएको कोषाध्यक्षले विमल तिवारीले सार्वजनिक गरेको आयव्यय विवरणमा उल्लेख छ । त्यस्तै मुख्य प्रायोजक गरेको हिमश्री फुड्स प्रालीको उत्पादन रारा तयारी चाउचाउले ३ लाख रुपैयाँ, गुरुङ गहना घर प्रालिले दुईलाख ७० हजार, केल्मे नेपालबाट दुई लाख ४० हजार, राष्ट्रिय खेलकुद परिषदबाट ९८ हजार, तमुधि युकेले ६० हजार,पोखरा एभेन्जर्स, टाईगर ग्रुप, टेम्बल बेल बुटिक होटल, फ्रयाङ्कलिन एजुकेशन र क्राउन प्लाजा होटल काठमाडौंले समान ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

मञ्चले सर्वाधिक खर्च पुरस्कारमा गरेको छ । १० लाख रुपैयाँ पुरस्कारमा खर्च गरेको उल्लेख छ । त्यस्तै खाजा, खाना तथा आवास खर्चमा ७ लाख, टिसर्ट तथा ट्रयाक सेट खरीदमा ४ लाख, साउण्ड सिष्टममा १ लाख ७९ हजार खर्च भएको विवरण प्रस्तुत गरिएको थियो ।

मञ्चले विगत दशवर्षदेखि पोखरा र गण्डकी प्रदेशमा रहेका खेलाडीहरुको मनोबल उच्च बनाउने ध्येयसहित स्पोर्टस अवार्ड गर्दै आएको छ । स्पोर्टस अवार्डबाट यो वर्ष वर्षपुरुषबाट लनटेनिसका प्रदीप खड्का र महिला तर्फ एथलेटिक्सकी नारायणी भण्डारी घोषित भएका थिए । उनीहरुलाई स्कुटर प्रदान गरिएको थियो ।