मेयर कप बास्केटबल प्रतियोगिता भदौ दोस्रो साता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ३२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बास्केटबल संघको अयोजनामा पोखरामा मेयर कप बास्केटल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आयोजना हुने मेयर कप बास्केटबल प्रतियोगितामा विभिन्न चार इभेण्टमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगिता यही भदौं १३ गतेदेखि बास्केटबल कोर्टमा आयोजना हुने छ ।

विद्यालयस्तरीय जे.पी क्रस बास्केटल प्रतियोगिता आयोजना गर्दै आएको बास्केटबल संघले पहिलो पटक मेयर कप नाम दिदैं चारै इभेण्ट सञ्चालन गर्ने छ । पोखरा महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिता अन्तर्गत मावि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै विद्यालयस्तरीय प्रतिस्पर्धा गराउने छ । त्यसपछि मावि कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै विद्यालयस्तरीय अर्को इभेण्ट सञ्चालन गरिने प्रतियोगिताका संयोजक एवं पोखरा महानगरपालिकाका बरिष्ट कानून अधिकृत नारायणप्रसाद शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

तेस्रो इभेण्टको रुपमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजस्तरीय आयोजना गरिने छ । चौथो इभेण्टको रुपमा भने संघले ४० वर्ष माथिको उमेर समूहको भेट्रान्स बास्केटबल प्रतियोगितालाई समावेश गरिएको कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङले बताए । कास्कीमा भएका विद्यालय तथा कलेजले सहभागिता जनाउन पाउने छ । विशेष गरी संघले दशजोड दुईदेखि कलेजस्तरलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको जनाएको छ । भेट्रान्टस बाहेक तीनवटा इभेण्टमा छात्र तथा छात्रा दुवैमा प्रतिस्पर्धा गराईने संघका अध्यक्ष गुरुङले जानकारी दिए ।

मावि तह कक्षा १० सम्मको विजेता विद्यालयको छात्र तर्फको विजेताले १२ हजार, उपविजेताले ७ हजार, छात्रा तफको विजेताले १० र उपविजेताले ६ हजार रुपैयाँसहितको ट्रफी प्राप्त गर्ने छन् । त्यसैगरी दशजोड दुईसम्मको अर्को इभेण्टको विजेता छात्र तर्फले नगद १५ हजार र उपविजेताले ८ हजार तथा छात्रा तर्फको विजेताले १२ हजार र उपविजेताले ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् । स्नातक तह(कलेज) तर्फको विजेताले पनि १५ हजार र ८ हजार तथा छात्रा तर्फ १२ र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् । खेल लिगनकाउटमा प्रतिस्पर्धा गराईने छ ।

जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समिति एवं नेपाल बास्केटबल संघको सहयोगमा आयोजना हुने प्रतियोगितामा १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराइएको १० लाख रुपैयाँबाट कोर्टको मर्मत सम्भार गरिएको थियो । कोर्ट ढलानसँगै फाईबर बोर्ड जडान गरिएको हो । संघले वर्षेनी विभिन्न स्तरीय बास्केटबल प्रतियोगिता भने आयोजना गर्दै आएको छ ।