
पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ।
प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र परियारले गरेका थिए । उनले प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्ने अर्जुन उपाध्याय र अरुण अधिकारीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे ।
नवलपुरले टस जित्दै फिल्डिङ गर्ने निर्णय गरेपछि कास्कीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ११६ रनको सम्मानजनक योगफल तयार पारेको थियो। कास्कीका लागि चन्द्रमाया बरालले उत्कृष्ट ब्याटिङ गर्दै ५२ बलमा ४ चौकाको मद्दतले सर्वाधिक ५५ रनको अविजित अर्धशतकीय इनिङ्स खेलिन्। त्यस्तै सम्झना बिकले १८ रन र रिया तामाङले अविजित १४ रन जोडिन्। नवलपुरका तर्फबाट बलिङ गर्दै श्रेया शर्मा र अनुषा तिमिल्सिनाले समान १–१ विकेट हात पारे।

११७ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नवलपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९७ रनमा सीमित हुन पुग्यो। नवलपुरका लागि धनकुमारी छेत्रीले ५२ बलमा २८ रन, आयुष्मा चापागाईंले २३ बलमा १ चौका र १ छक्कासहित अविजित २३ रन तथा निकिता कुँवरले १४ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।
नवलपुरलाई लक्ष्यसम्म पुग्न रोक्न कास्कीकी बलर चन्द्रमाया बरालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर २ महत्वपूर्ण विकेट हात पारिन्। यस्तै वर्षा पौडेलले पनि १ विकेट लिइन्। ब्याटिङमा शानदार अर्धशतक र बलिङमा किफायती प्रदर्शनसहित २ विकेट लिएकी चन्द्रमाया बराल खेलको प्लेयर अफ द म्याच घोषित भइन्। उनलाई गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार प्रदान गरे ।
्
प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। साथै, मंसिर तेस्रो सातादेखि पोखरामा आयोजना हुने पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीका लागि पनि यसै छनोट प्रतियोगिताको प्रदर्शनका आधारमा गण्डकी प्रदेशको टोली निर्माण गरिनेछ।
प्रतियोगिताअन्तर्गत आज स्याङ्जा र पर्वत जिल्ला महिला टोलीबीच दोस्रो खेल हुँदैछ। लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा बागलुङसहित गण्डकी प्रदेशका पाँच जिल्लाका टोलीहरूको सहभागिता रहेको छ। प्रतियोगितामार्फत उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगिताका लागि प्रतिस्पर्धात्मक टोली निर्माण गर्ने लक्ष्य राखिएको छ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…