थापा गल्फ क्लब च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज-हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित हिमालयन गल्फ क्लब वार्षिक च्याम्पियनसिपको उपाधि बलराम थापाले जितेका छन् । उनले ९ ओभर ७९ स्कोर सहित क्लब च्याम्पियन बनेका हुन् । उनले च्याम्पियनसँगै जनवरी मन्थ्ली गल्फको पुरस्कार समेत आफनो नाममा लेखाउन सफल भए ।

पार ७० को हिमालयन गल्फ कोर्षमा उत्कृष्ट प्रदर्शन गर्दै क्लब च्याम्पियन बनेका उनले दोस्रो स्थानका जीवाराम गुरुङलाई ३ स्ट्रोकले पछि पारे । गुरुङले ८२ स्कोरसहित कुल १२ ओभरमा आफनो खेल टुग्याए । १८ होलको कोर्षमा १३ ओभर खेल्दै मेजर लछिमप्रसाद गुरुङ भने तेस्रो स्थानमा रहे । उनी कास्की जिल्ला गल्फ संघका अध्यक्ष समेत हुन् । उनले समग्रमा ८३ स्कोरमा शनिबारको च्याम्पियनसिप टुग्याउन पुगे ।

शनिबारै नेट तर्फको प्रतिस्पर्धाको पुरस्कार भने ६५ स्कोरसहित अर्जुन गुरुङले थापे । दोस्रो स्थानमा ७० अंकसहित सन्देश सिग्देल दोस्रो र ७३ अंक सहित ई.गोविन्द गौचन तेस्रो स्थानमा चित्त बुझाए । खेलाडीले गरेको प्रदर्शन उनीहरुको ह्याण्डीक्याप अनुसार विजेता तथा उपविजेता छुट्टाईएको हो ।

जनवरीको मन्थ्ली मेडल थापाकै नाममा रहदाँ अर्जुन गुरुङ दोस्रो स्थानमा रहे । उनले ३७ स्कोरको कार्ड बनाएका थिए । तेस्रो स्थानमा जीवाराम गुरुङ रहे । ओभरअल प्रतिस्पर्धामा भने जीवराम गुरुङको नाममा उपाधि लेखियो । उनले २८ स्कोरको कार्ड बनाए । त्यसैगरी बलराम थापा भने दोस्रो स्थानमा रहे । उनले २३ को कार्ड बनाए । अजुर्न गुरुङ भने २०को स्कोरसहित तेस्रो स्थानमा चित्त बुझाए ।

प्रतिस्पर्धामा लङगेष्ट ड्राईभ सन्देश सिग्देलले हिर्काए । क्लोज टु दि पिनको पुरस्कार धर्मराज गुरुङले पाउँदा मोष्ट बर्डी हिर्काएको पुरस्कार भने जीवाराम गुरुङले प्राप्त गरेका थिए । विजेता खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, कास्की जिल्ला गल्फ संघका अध्यक्ष मे.लछिमप्रसाद गुरुङ, संघका उपाध्यक्ष ज्ञानकाजी गुरुङ तथा सचिव ईं गोविन्द गौचन लगायतले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार वितरण गर्दै कार्यालय प्रमुख योगीले पोखरा रंगशालाभित्रको व्याडमिन्टन कभर्ड हलभन्दा पश्चिम तर्फ रहेको स्थानलाई गल्फ पटिङ गर्ने ठाँउको रुपमा विकास गर्ने संघको चाहनालाई पुरा गर्ने तर्फ आफनो प्रतिबद्धता रहेको स्पष्ट पारे । पोखरा रंगशालाभित्रै गल्फको पटिङ गर्ने स्थल बनाउन सकिए गल्फ प्रतिको चाहना अझै बढ्ने विश्वास व्यक्त गरे । प्रतिस्पर्धामा २४ गल्फर सहभागि थिए ।
कास्की जिल्ला गल्फ संघका अध्यक्ष मे लछिमप्रसाद गुरुङले गल्फ खेलकोे विकास र विस्तारको लागि संघसँगै खेलकुद परिषदले पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले एमेच्योर गल्फसँगै युवा पुस्ताको प्रतिस्पर्धा गर्न क्याडी प्रतिस्पर्धा गराउनुपर्ने बताए । यही माघ २९ गतेदेखि पोखरामा सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता समेत हुदैै छ । त्यसको लागि संघले आवश्यक ग्रिन मर्मत कार्य गरिरहेको छ ।