सहाना प्रधान स्मृति महिला हक्की, प्रदेश नं ५ सेमिफाइनल नजिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाल आर्मीले प्रदेश नं १ लाई फराकिलो गोल अन्तरले पराजित गर्दै पोखरामा आयोजित सहाना प्रधान स्मृति प्रदेशस्तरीय महिला राष्ट्रिय हक्की प्रतियोतिगाको सेमिफाईनल ढुक्क बनायो । प्रतियोगिताकै सर्वाधिक गोल हिर्काउने क्रममा सीतामाया बलले ह्याट्रिक पुरा गर्दा आर्मीले प्रदेश नं १ लाई १०–० गोलले पराजित गर्यो । खेल पूर्ण रुपमा एक पक्षीय देखिएको थियो । चौथो मिनेटमा गोल हिर्काएको आर्मीले पहिलो हाफ अघि नै ६ गोलको अग्रता लिएको थियो । बाँकी चार गोल भने दोस्रो हाफमा गर्दै फराकिलो जित निकाल्यो । चौथो मिनेटमा सीताकुमारी चौधरीले पहिलो गोल गर्दै खाता खोलिन् । उनले खोलेको गोलको खातामा सीता माया बलले ६ मिनेटमा अर्को गोल थपिन् ।

चौधरीले नै व्यक्तिगत दोस्रो गोल भने ११ औं मिनेटमा सम्भब बनाईन् । त्यसपछि २३ औं मिनेटमा कमला चन्दको गोल थपियो । २५ औं मिनेटमा बन्दना तिवारीको नाममा अर्को गोल लेखियो । २९ औं मिनेटमा सीतामाया बलले व्यक्तिगत दोस्रा गोल हिर्काईन् । उनले पहिलो ह्याट्रिक पुरा गर्ने क्रममा ३८ औं मिनेटमा गोल हिर्काईन् । ४० औं मिनेटमा दिपकुमारी घलेले गोल थपिन् । बलकै नाममा ५५ औं मिनेटमा गोल गर्दै व्यक्तिगत चौथो गोल आफनो नाममा लेखाउँदै सर्वाधिक गोलकर्ताको सूचीमा रहिन् । अन्तिम गोल भने कमला चन्दको नाममा रह्यो । उनको पनि व्यक्तिगत दोस्रो गोल थियो । उनले ५८ औं मिनेटमा हिर्काईन् । खेलमा प्लेयर अफ दि वुमनको पुरस्कार भने सीतामाया बल बनिन् ।

प्रदेश नं ५ ले आईतबार प्रदेनं २ लाई पराजित गर्दै सेमीफाईनल बलियो बनाएको छ । प्रदेश नं ५ ले आईतबार पोखरा रंगशालास्थित आर्चरी खेलमैदानमा भएको प्रतिस्पर्धामा प्रदेश नं २ लाई ३–० गोलले पराजित गर्दै सेमिफाईनल यात्रा बलियो बनाएका हो । अघिल्लो दिन प्रदेश नं ५ ले सुदुर पश्चिम प्रदेशसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल हक्की संघको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा आयोजित प्रतिस्पर्धामा प्रदेश नं ५ ले एकपक्षीय नजिता निकाल्ने क्रममा १४ औं मिनेटमा सपना सिंहले पहिलो गोल गरिन् । दोसैो गोल १७ औं मिनेटमा शिशु कुमारीले गरिन् । तेस्रो तथा अन्तिम गोल भने ४३ औं मिनेटमा नन्दिनी सिंहले गर्दै जित पक्का बनाईन् । खेलमा सिवाङ्गी वर्मा प्लेयर अफ दि म्याच घोषित भईन् ।