वालिङमा महिला फुटबल आयोजना गरिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित


खेलाडी न्युज(याङजा)-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय फुटबल प्रतियोगिता स्याङजाको वालिङस्थित माले बगरमा आयोजना गरिने तय गरिएको छ । आँधीखोला किनारमा रहेको मालेबगर खेल मैदानलाई स्तरोन्नति गरिएपछि महिला राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने निक्र्यौल गरिएको हो ।
गत वर्ष राष्ट्रिय खेलकुद परिषदले ४० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि मैदानको स्तरोन्नति गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जनाए । ‘४० लाख रुपैयाँले मैदान स्तरोन्नतिसँगै पूर्व तर्फ प्यारापिटसहित चेन्जिङ रुम तथा शौचालय निर्माण गरिएको छ ।’बिहीबार वालिङस्थित मालेबगर खेल मैदानको अनुगमन गर्न पुगेका योगीले भने–‘यो वर्ष १० लाख रुपैयाँ बजेट छ । त्यसले फिनिसिङ गराउने तर्फ आग्रह गरेका छौं ।’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिकै इन्जिनियर प्रनिस ताम्राकारका अनुसार फुटबलको लागि आवश्यक मैदानको मापदण्ड पुग्छ । ‘३ सय दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ’ उनले भने–‘२५ फिट चौडाई र ४७ फिट लम्बाईको प्यारापिट बनाइएको छ ।’ उनले अब चेन्जिङ रुम तथा शौचालयलाई अन्तिम रुप दिन बाँकी रहेको उल्लेख गरे ।
अनुमगनको क्रममा पुगेका जिल्ला खेलकुद विकास कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले मोफसलमा खेलकुदको विकास र विस्तारको लागि प्रत्येक जिल्लामा खेलहरु आयोजना गर्नुपर्नेमा जोड दिए । उनले भने–‘सबै जिल्लामा खेलहरु सञ्चालन गरिए खेलकुदको विकास र विस्तारमा टेवा पुग्छ । पूर्वाधारको विकास हुन्छ ।’ गण्डकी प्रदेशको महिला फुटबलको टोलीको अधिकांश खेलाडी वालिङकै छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा मोफसलकै वालिङले महिला फुटबलमा आफनो दरिलो उपस्थिति जनाउँदै आएको छ । महिला फुटबलले नै वालिङको परिचय बनाईदिएको छ ।
नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता आगामी फागुन २०–२७(२०७७ साल) मा आयोजना गर्ने पूर्व निर्धारित मिति हो । तर कोरोना कहरसँगै लकडाउनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पूर्वाधार तयारी भईसकेका छैनन् । अझै पनि कोरोना संक्रमणको सन्त्रासले अर्ध लकडाउनकै स्थिति छ । खेल क्षेत्रलाई राष्ट्रिय खेलकुद परिषदले अझै खुला गर्न सकेको छैन् । खेलाडीहरु प्रशिक्षण गर्न पाएका छैनन् ।
जिल्ला खेलकुद विका समितिका स्याङजाका प्रशिक्षक बरुण गैह्रेले नवौं राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि आवश्यक तयारीमा कुनै कमि नहुने जिकिर समेत गरे । ‘मैदान तयार छ । चेन्जिङ रुम बनाउन बाँकी छ ।’ उनले भने–‘मैदानसहित खेलाडीलाई आवासीय सुविधा समेत पर्याप्त छ ।’ राष्ट्रिय महिला फुटबल प्रतियोगिताको लागि वालिङ नगरपालिका, स्थानीय उद्योगी व्यवसायी लगायतले समेत सहयोग गर्ने उनको भनाई थियो । गण्डकी प्रदेशको महिला फुटबल टोलीको अधिकांश सदस्य वालिङ रहेकोले पनि वालिङमा महिला राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजनाको जिम्मेवारीले उत्साहित र प्रोत्साहित समेत गरेको प्रशिक्षक गैह्रेले सुनाए ।