खेलकुद विकास गर्न स्थानीय तहमै खेलसंघ गठन हुनुपर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २० गते २०७७ मा प्रकाशित


गण्डकी प्रदेश जिल्ला खेलसंघ

पोखरा-खेलकुद संघसंस्था राष्ट्रिय खेलकुद परिषदमा दर्ता छन् । राखेपमा दर्ताभएको संघले जिल्ला जिल्लामा संघ गठन गरी खेलकुद गतिििध गतिविधि गर्दै आएका छन् । कास्की जिल्ला खेलकुद विकास समितिको तथ्यांक अनुसार १०५ खेलकुद संघ छन् । केही तदर्थ समिति बनाएर अधिवेशनको संघारमा छन् । दर्ता भएका केही संघहरु निष्कृय छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल मात्रै समावेश छन् ।
राखेपमा दर्ता भएका संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन जरुरी छैन् । ‘राखेपको खेलकुद विकास ऐन अन्तर्गत १६ वटा जिल्लामा सम्बन्धीत खेलको खेलकुद गवितिधि हुनैपर्छ । खेलकुद गतिविधिकै आधारमा सिफारिस भए परिषदमा संघ दर्ता हुन्छ’ कास्की जिल्ला खेलकुद विकास समितिका पोखराका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘त्यही ऐन अनुसार जिल्ला संघ गठन भएका हुन् । जिल्ला प्रशासनमा छुट्टै दर्ता हुन जरुरी छैन् ।’
अहिले संरचना संघीयतामा गएको छ । प्रदेश खेलकुद परिषद गठनको प्रक्रियामा छ । गण्डकी प्रदेशले पनि खेलकुद परिषद गठन गर्न गण्डकी खेलकुद विधेयक पारित गरिसकेको छ । पारित गरिएको विधेयकले जिल्लामा खेल संघ गठन गर्न तीन वटा स्थानीय तहमा खेल संघ गठन भएको हुनुपर्ने प्रावधान छ । यसले जिल्लामा खेलकुदका गतिविधि सञ्चालन गर्दै आएका खेल संघ स्थानीय तहबाटै आउनुपर्ने प्रावधान छ । स्थानीय तहमा संघ गठन भएपछि मात्रै जिल्ला संघमा मान्यता पाउने छ । जिल्ला संघको अवधि चार वर्षको हुने समेत विधेयकमा उल्लेख छ ।
खेलकुदको विकास स्थानीय तहबाटै गरिनुपर्छ । स्थानीय तहबाटै खेलकुदको जग बलियो बनाउने ध्येय सहित गण्डकी खेलकुद विधेयक पारित भईसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘खेलकुदका विकास स्थानीय तहबाटै हुनुपर्छ भन्ने हो’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन–‘भईरहेका संघ पनि स्थानीय तहमा गठन हुनुपर्छ ।’
उनको भनाई अनुसार कम्तिमा पनि स्थानीय तहमा खेलकुदको विकास र विस्तारमा टेवा पुर्याउने नीति हो । संघीय युवा तथा खेलकुद मन्त्रालयले पनि खेलकुदको विकासमा एक स्थानीय तह एक खेल मैदानको योजना कार्यान्वयन गर्दै आएको छ । खेल मैदानको लागि आवश्यक प्रतिवेदन समेत माग युवा तथा खेलकुद मन्त्रालयले गरिसकेको छ । ‘तल (स्थानीय तह)बाटै खेलकुदको विकास हुनुपर्छ’ मन्त्री पुनले भनिन–‘खेलकुदको जग नै स्थानीय तह हो । जग बलियो बनाउन स्थानीय तहमा खेल संघ गठन अनिवार्य बनाइएको हो ।’
प्रदेश खेल संघ गठन गर्न पनि कम्तीमा ६ जिल्ला हुनुपर्ने छ । छ वटा जिल्लाका सदस्य रहने गरी प्रदेश खेल संघ गठन हुने प्रावधान छ । नेपाल क्रिकेट संघ(क्यान)ले गत वर्ष मात्रै गण्डकी प्रदेश क्रिकेट संघ गठन गरेको थियो । प्रदेशका ११ जिल्ला मध्ये केवल चार जिल्लामा मात्रै क्रिकेट संघ गठन छ । कास्की, तनहुँ, नवलपुर र बाग्लुङ जिल्लामा मात्रै क्रिकेट संघ छ । ७ वटा जिल्लामा क्रिकेट संघ गठन छैन् । विधेयक अनुसार खेल संघको विधानमा प्रत्येक चरा वर्षमा प्रचलित कानून बमोजिम खेल संघका पदाधिकारी तथा सदस्यको निर्वाचन हुने व्यवस्था गर्नुपर्ने उल्लेख छ ।