टेनिसको भवन प्रयोगविहीन, गलत ठाँउमा बनाईयो –संघ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


पोखरा रंगशालाभित्र नवनिर्मित टेनिसको भवन । तस्बिर खेलाडीन्युज

पोखरा-पोखरा रंगशालाभित्र बनाईएको टेनिसको भवन गलत ठाँउमा भएको कास्की जिल्ला टेनिस संघले जिकिर गरेको छ । भवन बनाउन कास्की जिल्ला टेनिस संघसँग समन्वय समेत नभएको आरोप लगाउँदै आएका छन् । गतल ठाँउमा भएकै कारण खेलाडीलाई पायक नपर्ने संघले जनाएको छ ।

‘टेनिसको पूर्वाधार बनाउँदा संघसँग समन्वय नै नगरी बनाइयो’ कास्की जिल्ला टेनिस संघका कोषाध्यक्ष लोकबहादुर गुरुङले भने–‘समन्वय गरेको भए बनाईएको भवन अहिले प्रयोगविहीन अलपत्र पर्ने थिएन् ।’ परिषदले आवश्यकता भन्दा पनि हचुवाको भरमा बनाएको आरोप लाग्दै आएको छ । नयाँ बनाइएको भवन छ वटा कोर्ट भन्दा दक्षिणमा छ ।

संघको आफ्नै अफिसियल भवन छ । यसले गर्दा नयाँ बनाइएको भवन संघले उपयोग गरिसकेको छैन् । भवन उपयोग गर्नु अघि नै मर्मत सम्भार गर्नुपर्ने देखिएको छ । ‘भवन उपयोग गर्ने विषयमा कुनै जानकारी नै छैन’ उनले भने–‘कोर्ट पनि खत्तम भईसकेको छ । मर्मत नगरी हुदैन् ।’

राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशालाभित्र टेनिसको पूर्वाधार बनाउन दुई करोड ५७ लाख रुपैयाँ खर्च गर्यो । भवन, हार्ड कोर्ट र क्ले कोर्ट बनाउन परिषदले त्यति रकम खर्च गरेको हो । पूर्वाधार बनाउन परिषदले जिल्ला संघसँग समन्वय नै नगरी टेण्डर आह्वान गरी ठेकेदार कम्पनीलाई जिम्मा लगायो । ठेकेदार कम्पनी आर एण्ड सी विल्डर्सले परिषदले दिएको नक्सा अनुसार धमाधम पूर्वाधार तयार पार्यो । भवन बनायो । हार्ड कोर्ट र क्ले कोट बनाई तारजाली लगाईदियो ।

राष्ट्रिय खेलकुद परिषदलाई ठेकेदार कम्पनीले बुझाईसके । गएको कार्तिकमै काम सकिएको हो । तर म्याद असार मसान्तसम्म थियो । असार मसान्तमा रंगशालाभित्र टेनिसको लागि बनाइएको भवनसहित हार्ड कोर्ट र क्ले कोर्ट बुझाईयो । भवन प्रयोगविहीन छ । क्ले कोर्ट पानी जमेर लेउयुक्त छ । संरक्षण र सम्बद्र्धनको जिम्मेवारी र दायित्व परिषदले नत खेलकुदलाई निर्देशन गरेको न टेनिस संघलाई नै ।

भवनमा चेन्जिङ रुम, शौचालय, फिडब्याक रुम र प्यारापिट बनाइएको छ । संघले प्यारापिटसहितको चेन्जिङ रुम बनाउन कोर्टहरुको पूर्व तर्फ बनाउन उपयुक्त थियो । कोषाध्यक्ष गुरुङका अनुसार पूर्व तर्फ प्यारापिटसहित चेन्जिङ रुम र शौचालय बनाउन सकिन्थ्यो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पनि टेनिसको पूर्वाधार बनिसकेको विषयमा यकिन जानकारी परिषदबाट नआएको बताएको छ । ‘हस्तान्तरण भएको आधिकारीक सूचना छैन्’ कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले भने–‘समन्वय नहुदाँ बनेको भवन कसरी प्रयोग गर्ने भन्ने छैन् । परिषदबाट कुनैपनि निर्देशन छैन् ।’ संरक्षण र सम्बद्र्धन एवं उपयोगको नहुदाँ भवन कार्तिक यता अलपत्रै छ ।