मालेपाटनको चौरलाई हक्की मैदान बनाउन प्रस्ताव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित


पोखराको मालेपाटन खेलमैदान । पृष्ठभूमिमा माछापुच्छ्रे हिमालसहित अन्नपूर्ण हिमश्रृंखला ।

पोखर-पोखरा–५ मालेपाटनस्थित खेलमैदानलाई हक्की खेल मैदानको रुपमा विकास गर्ने प्रस्ताव अघि सारिएको छ । राष्ट्रिय खेलकुद परिषद तथा नेपाल हक्की संघका पदाधिकारीले मालेपाटनको खेल मैदानलाई अन्तराष्ट्रियस्तरको हक्की भेन्युको रुपमा विकास गर्ने योजनासहित प्रस्ताव गरेका हुन् । प्रस्ताव अनुसार स्थानीय तहसँग समेत प्रारम्भिक छलफल शुरु भएको छ ।

पोखरामा हक्की मैदान छैन् । मैदान नै नहुदाँ हक्की खेलको विकास र विस्तारमा समस्या छ । पोखरा रंगशालाभित्रै जेनतेन प्रशिक्षण गर्दै हक्कीले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । दुई वर्ष अघि पुरुष तर्फ गण्डकी प्रदेशले पूर्वमा आयोजित गिरिजाप्रसाद कोईराला स्मृति हक्की प्रतियोगितामा च्याम्पियन बनेको थियो । महिला तर्फ भने नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उपविजेता बनेर फर्किएको थियो ।

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने संघारमा छ । संघारमा रहँदा हक्कीको पूर्वाधार भने नहुदाँ खेलाडी तथा अफिसियललाई पीडा थपेको छ । त्यही पीडालाई कम गर्न पोखराको मालेपाटनस्थित खेल मैदानलाई हक्की खेलमैदान बनाउने गृहकार्य शुरु गरिएको हो । ‘मालेपाटनलाई हक्कीको लागि उपयुक्त देखिएकोले हक्की मैदान बनाउन पहलकदमी गर्न प्रस्ताव गरिएको छ’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने–‘मैदान उपयुक्त छ । पोखराको बजारकै मध्यकेन्द्र विन्दुमा छ । त्यसमा पनि अझ हिमालको दृष्य उत्कृष्ट देखिन्छ ।’ मैदानको लागि परिषदले तीन वर्ष अघि विभिन्न चरणमा गरी बजेट छुट्टाएर तारजाली लगाई संरक्षण समेत गरिएको छ । तारजाली लगाई संरक्षण गरिएकोले पनि हक्की मैदान बनाउन सहज हुने विश्वास उनको थियो ।

अन्तराष्ट्रिय मापदण्ड अनुसारको हक्की मैदान बनाउन सकिने नेपाल हक्की संघले जनाएको छ । ‘मैदान पुग्छ । आवश्यक अन्य पूर्वाधार बनाउन समेत जग्गा पर्याप्त छ ’ नेपाल हक्की संघका उपाध्यक्ष एवं हक्कीका पूर्व राष्ट्रिय खेलाडी हिमाल खड्काले भने–‘एशियन हक्की फेडेरेशनको मापदण्ड अनुसार पूर्वाधार बनाउन सकिन्छ ।’ फेडेरेशनको मापदण्ड अनुसार मैदानसहित चेन्जिङ रुम, सचिवालय, पार्किङ, कार्यालय तथा दर्शकको लागि प्यारापिट समेत हुनुपर्छ । ती पूर्वाधार बनाउन पर्याप्त हुने उनको भनाई थियो । नेपाल हक्की संघका पदाधिकारीले समेत मैदान निरिक्षण गरेर फर्किसकेका छन् । अन्तराष्ट्रिय मापदण्ड अनुसार मैदान ९१.४ मिटर लम्बाई र ५४ मिटर चौडाईको हुन्छ ।

मैदान नै नहुदाँ एशियन हक्की फेडेरेशनले उपलब्ध गराउने टर्फ(कृत्रिम घाँसे मैदान) ल्याउन नसकिएको उनले बताए । ‘फेडेरेशनले टर्फ दिन्छु भनेको छ । पूर्वाधार नहुदाँ ल्याउन सकिएको छैन’ उनले भने–‘टर्फ मात्रै ल्याउन सकिए पोखरा हक्कीको अन्तराष्ट्रिय भेन्यु बन्न सक्छ ।’ खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास संघले लिएको छ ।

पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले मालेपाटनको खेल मैदानको लागि हक्की मैदान बनाउने विषयमा छलफल शुरु गरिएको प्रष्ट्याए । ‘प्रारम्भिक छलफल भएको छ । निष्कर्षसहितको निर्णयमा पुगिसकिएको छैन् ।’ वडाध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रवक्ता नेपालीले सुनाए । उनका अनुसार मैदानको भोगचलन बाराही माविले गर्दै आएको छ । मैदानको दक्षिण तर्फ बास्केटबल कोर्ट र उत्तर तर्फ भलिबल कोर्ट छ । दुवै कोर्टलाई यथावत राख्दै अन्तराष्ट्रिय मापदण्डको हक्की मैदान बनाउन सकिने विश्वास राष्ट्रिय खेलकुद परिषदले लिएको छ ।