‘माउन्टेन स्पोर्टस गेम’को योजना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित


ट्रेल रेसमा सहभागि स्वदेशी तथा विदेशी खेलाडी ।

पोखरा-स्पोर्टस(खेलकुद) अनि टुरिज्म । एउटै सिक्का दुई पाटा हुन् । खेलकुद पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो । दीगो पर्यटन प्रवद्र्धनको लागि आगामी पाँचवर्षभित्रमा ‘माउन्टेन स्पोर्टस गेम’ आयोजना गर्ने तयारी छ । पर्वतीय खेलकुद महासंघका अनुसार खेलकुदसँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अभियानसहित सन २०२३ देखि २०२५ भित्रमा गेम गर्दै अन्तराष्ट्रिय विश्वव्यापी अभियान चलाउने योजना छ ।

सन २०२१ को अप्रिलमा पोखरा–जोमसोम क्षेत्रमा अफरोड मोटर रेस गर्ने योजना थियो । तर कोभिड–१९ को महामारीले स्थगित गरिदियो । कालीगण्डकी क्षेत्रमा आयोजना गरिने अफरोड रेस विश्वका १२ टिमको सहभागिता निश्चित थियो । ‘अन्तराष्ट्रिय विश्वव्यापी अभियान अन्तर्गत पर्वतीय खेलुकद महासंघले माउण्टेन खेलकुद प्रतियोगिता आयोजना गर्ने योजनामा छौं ।’ पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोविन्द भट्टराई भन्छन–‘यो अभियानले नेपाल विश्वकै उत्कृष्ट साहसिक खेलकुदको गन्तव्यको रुपमा विकास गर्छ । अन्तराष्ट्रिय पहिचान बनाउँछ ।’

फरक प्रकृति । फरक सँस्कृति । अनि फरक साहसिक । यी तीनैको संगम छ गण्डकी प्रदेश । दीगो पर्यटन प्रवद्र्धनको लागि नेचर, एडेभन्चर र कल्चरसँग जोडिएको साहसिक खेलकुदको विश्वकै ‘हब’ बनाउने योजनाको रुपमा विकास हुनेमा दुईमत नभएको उनी सुनाउँछन् । ‘पोखरा र आसपासको दुईसय किलोमिटर क्षेत्रमा विश्वस्तरका साहसिक गेम गर्न सकिन्छ ।’ राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य समेत रहेका भट्टराई बताउँछन् ।

प्रकृति(नेचर) खेलकुदको सम्भावना छ । जंगल दौड, ट्रेल रेस एवं गल्फ प्रकृतिसँग सम्बन्धीत खेल हुन् । पानीजन्य खेलकुदको अथाह सम्भावना पोखरा र आसपासका क्षेत्रमा गर्न सकिन्छ । फ्लाट वाटर गेम(ताल तलैयामा खेलिने) ह्वाईट वाटर(नदीनालाको छालमा खेलिने) खेल छन् । तालमा स्कुभा डाइभिङ गेम आयोजना गर्न सकिने उनी सुनाउँछन् । झरनाको पानीमा क्यानोनिङ पर्यटक तान्ने अर्को खेल हो । वाटर स्की, जेटस्की, पावर बोटिङ छन् । ‘सम्भावना भएर पनि आयोजना गर्न सकिएको छैन्’ उनी भन्छन–‘त्यसको लागि सरोकारवाला निकायले ध्यान दिनुपर्छ । कार्यगत योजना बनाई अगाडि बढ्नुपर्छ ।’ नदी र ताल तलैया बजार क्षेत्रभित्रै छ । नजिकको दुरीमा छन् । त्यसले पनि आयोजना गर्न सकिन्छ । ताल र नदी नजिकै भएको विश्वको अन्य ठाँउ छैनन् । एशियनस्तरीय ट्रायथोलन समेत पोखरा आयोजना गरिसकिएको छ ।

एडभेन्चर खेलकुद गर्न सकिने सम्भावना प्रबल छ । पोखरामा आकाशे खेलकुद गर्न सकिन्छ । यद्यपी पोखरामा अहिले प्याराग्लाईडिङ मात्रै हुने गरेको छ । त्यसबाहेक अल्ट्रा, ह्याङग्लाईडिङ, बेलुन लगायतका खेलहरु सञ्चालन गर्न सकिनेमा उनी विश्वस्त छन् । ढोरपाटन, मनाङ, मुस्ताङमा साईक्लिङको अन्तराष्ट्रिय प्रतिस्पर्धा गराउन सकिन्छ । पहाडी क्षेत्रमा साईक्लिङकै इभेण्ट टाउन हिल, क्रस कन्ट्री तथा कालोपत्रे सडकमा रोड रेस आयोजना गर्न सकिन्छ ।

कल्चर सम्बन्धी विश्वस्तरमा खेलिने खेल परम्परागत घोडा दौड, परम्परागत धनुषवाण हान्ने खेललाई समेत पर्यटन प्रवद्र्धनको नयाँ आयाम बन्ने विश्वास छ । बजार क्षेत्रभित्र पर्ने सबैभन्दा सिधा लामो दुरी पोखराको सभागृहचोकदेखि चिप्लेढुंगा सडक खण्डमा मोटर रेस सम्बन्धीको गतिविधि गर्न सकिन्छ । त्यतिमात्रै नभई क्लाइम्बिङको सम्भावना उत्तिकै छ । ‘आईस, वाल र रक क्लाइम्बिकको गण्डकी प्रदेशमा प्रचुर सम्भावना छ’ उनी भन्छन–‘मुस्ताङमा रक क्लाईम्बिलङ, मनाङमा आईस क्लाईम्बिङ गर्न सकिन्छ ।’ पर्वतीय खेलकुद महासंघले विगत केही वर्ष यता मनाङमा आईस क्लाईम्बिङ शुरु गरेको छ । मुस्ताङको जोमसोमस्थित नेपाली सेनाको मातहतमा रहेको रक क्लाम्बिङ गर्न विश्वकै उत्कृष्ट क्लाईबर्स आउने गरेका छन् । खास गरी विदेश सेनाहरु क्लाम्बिङको लागि मुस्ताङ आउने गरेको उनी सुनाउँछन् । विच भलिबल, विच क्रिकेट लगायतका खेलकुदका गतिविधि समेत सञ्चालन गर्न सकिने सम्भावना छन् ।

‘गण्डकी प्रदशे साहसिक तथा पर्यटकीय खेलकुदको लागि विश्वकै गन्तव्य बन्न सक्छ’ उनी भन्छन–‘त्यसको लागि सरकारी निकायको कार्ययोजना, रणनीति तथा पहलकदमीको खाँचो छ ।’ प्रदेश तथा संघीय सरकारले पर्यटन प्रवद्र्धनमा चिन्तित देखिएपछि रणनीतिक कार्ययोजना बनाउन चुक्दै आएको पर्वतीय खेलकुद महासंघको ठम्याई छ । महासंघका अनुसार प्रदेश र संघीय सरकारका जिम्मेवारी निकायलाई साहसिक तथा पर्यटकीय खेलकुदको विषयमा कि थाहा नै छैन् । कि थाहा पाएर पनि कसरी गर्ने भन्ने रणनीतिक योजना नै छैन् । पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले पनि पोखरालाई स्पोर्टस टुरिज्मको रुपमा विकास गर्नुपर्नेमा जोड दिन्छन् । ‘टुरिज्म प्रोमोनको माध्यम नै स्पोर्टस अझ प्रभावकारी हुन सक्छ ।’ उनी भन्छन–‘त्यसको लागि सरकारी निकायले बढी ध्यान दिनुपर्छ । निजी क्षेत्रले सरकारी अभियानमा हातेमालो गर्ने हो ।’