पल्सर स्पोर्टस अवार्ड पुस अन्तिम साता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित


स्पोर्टस अवार्ड

काठमाडौं-नेपाल खेलकुद पत्रकार मन्च काठमाडौंले पुसको अन्तिम साता ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ गर्ने घोषणा गरेको छ । मन्चले पुस २८ गते आयोजना गर्ने निर्णय आईतबार पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।

खेलकुद लामो समयपछि फर्किएको छ । झण्डै नौ महिना कोरोना कहरमा खेलकुद जेलियो । गत वर्ष साग सम्पन्न लगत्तै कोरोना कहरले विश्वलाई छोप्यो । कोरोना कहरकै अवस्थामा स्पोर्टस अवार्डलाई निन्रतरता दिने अठोट मन्चले लिएको छ । स्पोर्टस अवार्ड २०६० सालदेखि मञ्चले निरन्तर आयोजना गर्दै आएको छ । २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण मन्चले स्पोर्टस अवार्ड आयोजना गर्न सकेन् ।

१७ औं सस्करणमा आईपुग्दा सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमी भर्चुअल माध्यमबाट गर्ने मन्चले जनाएको छ । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद भव्यतापूर्वक आयोजना गर्यो । नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता पनि प्राप्त गरे । साग इतिहासकै सबैभन्दा धेरै पदक जित्न सफल भएका थिए । त्यसैले पनि २०७६ साल नेपाली खेलकुदका लागि स्वर्णिम कालको रुपमा चिर्तित छ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीले स्पोर्टस अवार्ड कार्यक्रमका लागि मञ्चलाई २८ लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी उपलब्ध गराउने छ । मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्दसँग मञ्चको सहकार्य दसौं वर्षमा प्रवेश गरेको छ ।

पल्सर स्पोर्टस अवार्ड २०७६ मा १० विधामा अवार्ड प्रदान गरिने छ । यस वर्ष एक नयाँ विधा थप गरिएको छ । गत वर्ष थपिएको विधा इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष पनि निरन्तरता दिइने छ। विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गरिने छ ।

वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिने छ । लाइफटाइम, पारा र टिम अफ दी इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

विगतमा झै वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकगरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने गरिने मन्चले जनाएको छ । मञ्चका सचिव गोविन्द रेग्मीको संंयोजकत्वमा खेलाडी छनोट समिति गठन गरिएको छ ।