संघमा राम्रा र योग्य व्यक्ति आउनुपर्छ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३ गते २०७७ मा प्रकाशित


कास्की जिल्ला बक्सिङ संघ

पोखरा-कास्की जिल्ला बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङमा पदक विजेता खेलाडी अफिसियल तथा केन्द्रीय संघका अध्यक्षलाई शुक्रबार पोखरामा सम्मान गरेको छ ।

बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सहायक प्रशिक्षक सुरेश मल्ल, स्वर्णपदक विजेता खेलाडीहरु भुपेन्द्र थापा, सनिल शाही, मेनु गुरुङलाई सम्मान गरिएको हो ।

सम्मानपछि बोल्दै केन्द्रीय अध्यक्ष अवालेले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रशिक्षक नभई खेलाडी उत्पादन नहुने भन्दै प्रशिक्षकको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए । ‘माष्टर नभई विद्यार्थी हुदैनन् । प्रशिक्षक विना खेलाडी उत्पादन हुदैन् ।’ उनले भने–‘खेलाडी उत्पादनमा कास्की बक्सिङले विशेष ध्यान दिनुपर्छ ।’ उनले जति धेरै खेलाडी भए उति नै गुणस्तरीय खेलाडी छनोट गर्न सकिने जिकिर गरे ।

‘पहिला क्वान्टिटी बढाउनुस । क्वान्टिटीबाटै क्वालिटी निस्कन्छ ।’ उनको भनाई थियो । मुख्य प्रशिक्षक प्रकाश थापामगरले राष्ट्रलाई चिनाउने ने खेल भएको भन्दै खेल र खेलाडीको हकहितको लागि संघले तदारुकता देखाउनुपर्ने बताए । उनले संघमा राम्रा र योग्य व्यक्ति आएमात्रै खेलको विकास हुने ठोकुवा गरे ।

दक्षिण एशियाली खेलुकदमा बक्सिङका पूर्व रजत पदक विजेता खेलाडी गणेशबहादुर भट्टराईले खेलाडीले आफनो अस्थित्वको लागि आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिए । कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले खेलाडीले आत्मबल बलियो बनाउँदै खेल्नुपर्नेमा बताए । ‘जबसम्म आत्मबल बलियो हुदैन् तबसम्म खेलाडीले कुनैपनि खेल जित्न सक्दैन् । पदक अपेक्षा गर्न सकिदैन् ।’ उनको भनाई थियो ।

कास्की जिल्लामा लामो समयदेखि राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिता आयोजना हुन सकेको छैन् । राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितको लागि केन्द्रीय बक्सिङ संघले क्यालेण्डर बनाउनुपर्ने सुझाव कास्की जिल्ला बक्सिङ संघले दिएको थियो ।