पर्यटन प्रवद्र्धन गर्न तनहुँको ऋषिङमा दौड

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १४ गते २०७७ मा प्रकाशित


पर्यटन प्रवद्र्धन गर्न तनहुँको ऋषिङमा दौड

तनहुँ- पर्यटन क्षेत्रलाई चलायमान बनाउन जिल्लाको ऋषिङ गाउँपालिकाले पहिलो पटक ऋषिङ दैडाको आयोजना गरेको छ । पुस २७ गते गाउँपालिकामा रहेका पर्यटकीय गन्तव्यको प्रर्बद्धन गर्न दौडको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ इतिहास बोेकेको थलो हो । ‘सम्भावना बोकेका तर ओझेलमा परेको गन्तव्यलाई खेलकुदको माध्यमबाट प्रवद्र्धन गर्ने अभियान शुरु गरिएको हो ।’ उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठका अनुसार खुला, स्थानीय र महिला गरी तीन विधामा दौड हुनेछ । खुलातर्फ ४० किलोमिटर दूरीमा धावकहरु उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । ऋषिङ गाउँपालिका–८ मा पर्ने ऐतिहासिक थलो ऋषिङ्गे राजाको दरबार रहेको गढीडाँडाबाट शुरु हुने दौड ऋषिङ्गे रानीको नुहाउने पोखरीबाट हतियार भण्डारण गर्ने कोटको काख गाउँपालिकाको कार्यालय हुँदै ऋषिङ–३ को दुबुङ भ्यूवटावरमा पुगेर टुंगिने छ ।

प्रथम हुने धावकले नगद ६५ हजार रुपैयाँ, दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । सान्त्वना हुने ३ जनालाई १० हजार रुपैयाँका दरले पुरस्कार दिईने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

१० किलोमिटरको दुरीको स्थानीय दौड हुने छ । ऋषिङ गाउँपालिका–८ मा रहेको ऐतिहासिक स्थल गढीकोटबाट ऋषिङ गाउँपालिका–६ मा रहेको ज्यामिरे माई मन्दिरसम्म पुगेर टुंगिने छ । दौडमा प्रथम हुने धावकले नगद १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला तर्फ पनि प्रतिस्पर्धा हुने छ । महिलाहरुको ४ किलोमिटर दौड हुने छ । ऋषिङ –८ गढीकोटदेखि ऋषिङ –७ मा रहेको दुर्गा भवानीको मन्दिरसम्म महिला धावक दौडनेछन् । प्रथम हुनेले नगद १० हजार रुपैयाँ, दोस्रोले ८ हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् ।