तनहुँमा यु–१४ फुटबल शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७७ मा प्रकाशित


तनहुँमा यु–१४ फुटबल

पोखरा-कोरोना कहरले थलिएको खेलकुद क्षेत्र चलायमान बन्न थालेको छ । लामो समयसम्म खेलकुद गतिविधि ठप्प भइरहेको अवस्थामा दमौलीमा भने शनिबारदेखि यु–१४ फुटबल प्रतियोगिता शुरु भएको छ ।

तनहुँ र कास्कीका १० क्लबको सहभागिता रहेको छ ।प्रतियोगिताको नेपाल फुटबल संघ(एन्फा) तनहुँका उपाध्यक्ष रविन पौडेलले उदघाटन गर्दै फुटबलको बिकास गर्दै खेलकुद र पर्यटनलाई सँगैसँगै लैजानुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका नगरसभा सदस्य समेत रहेका उनले लागु औषधमुक्त युवा समाज निर्माणको अभियानमा सबैले सहयोग गर्नुपर्ने बताए ।

रिभरसाईड युवा क्लबको आयोजनामा शुरु भएको प्रतियोगिताको उदघाटन खेलमा न्यु स्टारले हाइस्कुलटारलाई १–० गोलले पराजित गरेको छ । ‘लागु औषधमुक्त युवा समाज निर्माण’ नाराका साथ शुरु प्रतियोगिता देउरालीनगर खेल मैदानमा चल्नेछ ।

रिभरसाईड युवा क्लवका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडी विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मस्र्याङ्गदी क्लबका खेलाडी बिमल राना, संकटा क्लवका दिपेश आले, अर्डर क्लब भण्डारढीकका प्रशिक्षक सुवास तामाङ, अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटबलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।