पहिलो संस्करणको उपाधि आयोजक विजय युथलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७७ मा प्रकाशित


उपाधि उचाल्दै विजय युथ क्लब ।

हेटौंडा-आयोजक विजय युथ क्लबले पहिलो संस्करणको हेटौडा गोल्डकपको उपाधि उचालेको छ । शुक्रबार बनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा आयोजक विजय युथ क्लबले उत्कृष्ट पुनरागमन गदैै उपाधि लेखाउँदाँ सेन्ट्रल कलेज बिएफसी भरतपुर उपविजेतामा चित्त बुझायो । फाइनलमा भरतपुरलाई २–१ गोलअन्तरले स्तव्ध पार्दै आयोजकले उपाधि सिजनको पहिलो उपाधि आफनो पोल्टामा राख्दै प्रतियोगितालाई विट मार्यो ।

भरतपुरले रुपन्देहीमा सम्पन्न आठौं फर्साटिकर कपको फाइनल तथा चितवनको बसन्तपुरमा सम्पन्न दोस्रो माडी गोल्डकपको फाइनल खेलेको थियो । यद्यपि, दुवै फाइनलमा भरतपुर दुर्भाग्यपूर्णरुपमा उपविजेतामै सीमित बन्न पुगेको थियो । उपविजेतामै चित्त बुझाउने क्रममा शुक्रबार हेटौंडामा पनि दोहोरिन पुग्यो ।

निकै प्रतिष्पर्धात्मक फाइनलमा भरतपुरका रञ्जित आलेमगरले ५७ औं मिनेटमा गोल गरेर अग्रता लिए । त्यसको ६ मिनेटमा नबित्दै विजय युथका सन्त गुरुङले बराबरी गोल गरेका थिए । ६६ मिनेटमा भरतपुरका खेलाडीले डिबक्समा हातले बल छोएपछि विजय युथले पेनाल्टी पाएको थियो । विजय युथका लागि रुपेश केसीले गरेको पेनाल्टी गोल नै निर्णायक बन्न पुग्यो । 
शुरुवाती अग्रता बनाएर पनि त्यसलाई जोगाउन नसक्दा भरतपुर उपविजेतामा चित्त बुझाउन बाध्य भयो । भरतपुरको यस वर्षको यो लगातार तेस्रो फाइनल समेत थियो । क्लब यस सिजनमा राम्रो लयमा देखिएको थियो ।

प्रतियोगिताको उपाधि विजेता विजय युथ क्लब हेटौंडाले नगद ३ लाख रुपियाँ र उपविजेता भरतपुरले १ लाख ५० हजार रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा विजय युथ क्लबका रुपेश केसीले १५ हजार नगदसहित मेडल र प्रमाणपत्र हात पारे ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षकमा उपाधि विजेता क्लबका अशोक बराल, वेस्ट डिफेन्डर विजय युथकै सुरज बिष्ट, वेस्ट मिडफिल्डरमा सोही टिमका विश्व अधिकारी, सर्वाधिक गोलकर्तामा उपविजेता भरतपुरका विदेशी खेलाडी जोन ग्लोरी, वेस्ट फरवार्डमा विजय युथका बिमल राना र वेष्ट कोचमा विजय युथकै सुबिन घिमिरे भए । विधागत उत्कृष्ट हुनेले नगद ७ हजार ५ सयसहित मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा ग्लोरी ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा थिए ।
बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रतियोगिताको विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरेका थिए । मंगलबारको खेलमा चितवन डर्बीका रुपमा समेत हेरिएको हर्दी युवा समाज राप्तीलाई १–० गोलअन्तरले पराजित गर्दै भरतपुर फाइनल पुगेको हो । भरतपुरको जितमा विदेशी खेलाडी ग्लोरीले निर्णायक गोल गरेका थिए ।

माघ १६ गते सुरु भएको गोल्डकपमा भरतपुरले उद्घाटन खेलमा मकवानपुर—११ लाई हराएर विजयी सुरुवात गरेको थियो । प्रतियोगितामा मकवानपुर, चितवन, सर्लाही र बीरगञ्जका गरी १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रायोजन भिडोल लुब्रिकेन्ट्सले गरेको थियो ।