विभागीय डर्बीमा पुलिसको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७७ मा प्रकाशित


आर्मी विरुद्ध स्पाईक गर्दै नेपाल पुलिसकी कोपिला उप्रेती ।

पोखरा-टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता अन्तर्गत बुधबार महिला तर्फको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले विभागीय डर्बी प्रतिस्पर्धामा आर्मी विरुद्ध कमब्याक गर्दै ३–१ सेटले जितेको छ । पहिलो सेट आर्मीलाई सुम्पिएको पुलिसले लगतार तीन सेट आफनो पक्ष पार्दै आर्मीको चुनौतिलाई पन्छाउँदै महिला भलिबलमा आफनो पुरानो शाख जोगाउन उद्दत रह्यो ।

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आर्मीले पहिलो सेट २५–१८ मा लिदैं पुलिसमाथि दबाव शुरु गर्यो । तर दोस्रो सेटमा भने आर्मीले पहिलो सेटको लयलाई गुमायो ।

शुरुवात देखि नै पछि परेको आर्मी दोस्रो सेटमा २५–२२ मा गुमायो । एक–एक सेटको बराबरीले प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको तेस्रो सेट पनि आर्मीले पुलिससँग लय गुमायो । तेस्रो सेट २५–२३ को प्रतिस्पर्धात्मक रुपमा गुमाउँदै हारको संघारमा पुग्यो । चौथो सेट पुलिसले २५–१६ मा लिदैं आर्मी माथिको दबाव कायम राख्दै जित सुनिश्चित गर्यो ।