भोलिदेखि मुख्यमन्त्री कप भलिबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३ गते २०७७ मा प्रकाशित


मुख्यमन्त्री कप सम्बन्धी पत्रकार सम्मेलनमा जानकारी दिदैं ।

पोखरा-टाईगर कप भलिबलको रमझम सकिएको दुईदिन नबित्दै पोखरा फेरी भलिबलमय हुदैं । पोखरामा भोलि मंगलबारदेखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला भलिबल संघको आयोजनामा हुने मुख्यमन्त्री कपमा प्रदेशका १० जिल्लाको सहभागिता रहने छ । महिला तथा पुरुष दुवै ईभेण्टमा प्रतिस्पर्धा गराईने छ । बेष्ट अफ फाईभमा लिगकम नकाउटमा प्रतियोगिता सञ्चालन गरिने छ ।

भलिबल खेलको माध्यमबाट गण्डकी प्रदेशलाई ‘खेलकूदको हब’का रुपमा विकास गर्ने लक्ष्यसहित शुरु हुने प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाले सहभागिता जनाउने संघका अध्यक्ष भीम पराजुलीले बताए । कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागि हुनेछन् । मनाङको सहभागिता नहुने संघले जनाएको छ ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्धेश्य गण्डकी प्रदेशमा तय भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट गर्ने तथा प्रतिभावान खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य रहेको छ । भलिबल खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास समेत लिइएको छ ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २-२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १-१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ । प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०-५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५-५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५-५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।