
च्याम्पियन ट्रफीसहित नेपाल पुलिस क्लबका खेलाडीहरु ।
काठमाडौं-शसस्त्र प्रहरी बललाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटको उपाधि उचालेको छ । उपाधि विजेता पुलिसले ५ लाख रुपैयाँ पाउँदा उपविजेता शसस्त्र प्रहरी बलले ३ लाख रुपैयाँ पायो ।
नेपाल पुलिस क्लब विरुद्ध शसस्त्र प्रहरी आज निकै फिक्का देखियो । कमजोर प्रदर्शन गर्ने क्रममा शसस्त्रले पुलिसलाई केवल १ सय ६ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको नेपाल पुलिसले २४.१ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्दै च्याम्पियनको हकदार बन्यो । पुलिसका ओपनर सुनिल धमला ८२ बलमा ७ चौका र २ छक्का सहित ५९ रनमा अविजित रहे । धमलाले २३ औं ओभरको चौथो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै ७६ बलमा अर्धशतक पूरा गरेका थिए । त्यो नै जितको महत्वपूर्ण आधार बन्यो ।
दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । दीपेन्द्रले अभिनाश बोहरालाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । अनिल शाह र कुशल भुर्तेल १५–१५ रनमा आउट भए । एपिएफका भुवन कार्की र अभिनाश बोहराले १–१ विकेट लिए ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ २९.४ ओभरमा १ सय ५ रनमा सबै विकेट गुमाउन पुग्यो । सस्तैमा समेटिएको शसस्त्रका लागि बसन्त रेग्मीले २२ रनको योगदान दिए । युवा दायाँ हाते तीव्र गतिका बलर गुलशन झाको प्रभावकारी प्रदर्शन रह्यो । शसस्त्र एकपछि अर्को गरी सस्तैमा विकेट गुमाएपछि १०–३ को निकै नाजुक अवस्थामा थियो ।
चौथौ विकेटका लागि भुवन कार्की र सन्दीप जोेराले ३२ रनको साझेदारी गरेपछि शसस्त्रले केही राहत मिल्यो । गुलशनले नवौं ओभरको पाँचौं बलमा भुवन कार्कीले दीलिपबाटै १४ रनमा क्याच आउट गराएपछि फेरी विकेट पतन शुरु हुन पुग्यो । १३ औं ओभरको पहिलो बलमा ललित नारायण राजवंशीले सन्दीप जोरालाई १८ रनमा एलबिडब्लू आउट गर्दै ४७–५ को कमजोरबाटै संघर्ष गर्नुपर्यो । अमरसिंह राउटेला १८ र अभिनाश बोहरा १२ रनमा आउट भए ।
गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले ७.४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । प्रतियोगितामा बेष्ट बलर अरियो पौडेल(बागमती प्रदेश) घोषित भए । त्यसैगरी बेष्ट व्याट्सम्यान विनोद भण्डारी(त्रिभुवन आर्मी), प्लेयर अफ दि टुर्नामेन्टको पुरस्कार भने दिपेन्द्रसिंह ऐरी(नेपाल पुलिस) र प्लेयर अफ दि फाईनलको पुरस्कार गुलशन झाले प्राप्त गरेका थिए ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…