सहाराको प्लेइङ स्क्वाडमा एकेडेमीको एकजना खेलाडी

- सहारा र एपीएफ बीच उदघाटन खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १९ गते २०७७ मा प्रकाशित


सहारा एकेडेमीका अनाथ खेलाडीलाई निर्देशन दिदैं प्रशिक्षक विष्णु गुरुङ ।

पोखरा-तेस्रो व्याचको एकेडेमी ८ वर्ष पुग्यो । पहिलो र दोस्रो फेजआउट गरेपछि सहारा क्लबले तेस्रो व्याच शुरु गर्यो । २०७० सालमा तेस्रो व्याचमा २८ अनाथलाई राख्यो । अनाथ अहिले लर्के भईसकेका छन् । क्लबको योजना आहा रारा गोल्डकपमा आफनै उतार्ने हो । तर बिडम्बना १९ औं संस्करणमा भने एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्ने छन् । गत वर्षको सिजनमा पनि एकेडेमीलाई परिपक्क बनाउने योजनासहित बैकल्पिक खेलाडीमा राखेको थियो ।

१९ औं सस्करणको आहा रारा गोल्डकप केवल दुई दिन मात्रै बाँकी छ । २८ जना अनाथ खेलाडी बन्ने सपना बोकेका छन् । उमेर १५ देखि १७ वर्षका भईसकेका छन् । तर प्लेइङ स्क्वाडमा भने एकजना मात्रै रहने छन् । ‘यो वर्ष एकजना मात्रै एकेडेमीको खेलाडीले प्लेइङ स्क्वाडमा खेल्ने सम्भावना छ’ सहारा क्लबका प्रशिक्षक विष्णु गुरुङले भने–‘बाँकी खेलाडी ए डिभिजनकै खेलाडीहरुलाई समेटेका छौं ।’

भर्खरै प्रशिक्षकको ए लाईसेन्स प्राप्त गुरुङले राष्ट्रिय टिमका दुई खेलाडी आउने छन् । बंगलादेश विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका पोखरेली मिडफिल्ड त्रिदेव गुरुङ तथा दिप कार्की रहेका छन् । अधिकांश खेलाडी हिमालयन शेर्पाका छन् । एक जना अफ्रिकन खेलाडीलाई समेत टोलीमा समावेश गरेर बलियो बनाउने ध्येय प्रशिक्षक गुरुङको छ । एकेडेमीका अशिन पोमुलिम्बुले अवसर पाउने छन् ।

अघिल्लो व्याचका खेलाडी समेत आफुलाई फुटबलमा उभ्याईराख्न भने सकेनन् । सहारा क्लबले अनाथ बालकलाई आश्रय दिदैं फुटबलको सपना बोकेपनि अघिल्लो व्याचबाट सम्भव भने हुन सकेन् । तेस्रो व्याचबाट फुटबलमा स्थापित गर्ने लक्ष्य र योजना भने क्लबले साँचेकै छ । ‘दोस्रो व्याचलाई फेज आउट गरेपछि २०७० सालमा तेस्रो व्याच एकेडेमी शुरु गरिएको हो’ सहारा क्लबका महासचिव रामजी अधिकारीले भने–‘सबै एकैसाथ राखिएको होईनन् । चरण चरणमा गरी बालकहरु ल्याइएको हो ।’

‘यो वर्ष एकेडेमीका खेलाडीलाई एक्सपोजर दिने योजना थियो । तर प्लेइङ स्क्वाडमा सम्भावना रहेन्’ प्रशिक्षक गुरुङले भने–‘अर्को वर्ष अझै परिपक्क हुन्छन् । सेट टिम नै खेलाउन सकिन्छ ।’ उनका अनुसार यो वर्ष ‘पोटेन्सियल’ रहेका खेलाडी एसईइको परीक्षाको तयारीमा छन् । टोलीमा बैकल्पिक खेलाडीको रुपमा केही खेलाडीलाई राखिने छ ।

बैकल्पिक खेलाडीमा बढीमा ६ जना रहने सम्भावना छ । सहारा क्लबले चैत २१ गते शुरु हुने आहा रारा गोल्डकपको उदघाटनमा विभागीय क्लब शसस्त्र प्रहरी बल(एपीएफ)सँगै खेल्ने छ । गोल्डपकमा संकटा क्लब, मनाङमस्र्याङ्दी क्लब, मछिन्द्र्र क्लब, अफ्रिकन रुट एशोसियसन, रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।