लामा र राई शीर्षस्थानमा टाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २४ गते २०७७ मा प्रकाशित


गल्फर भुवन नगरकोटी ।

पोखरा-सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समान १ अण्डर खेल्दै शीर्षस्थानमा रहेका छन् ।

धरानका गल्फर बलभद्र राई भने लेभल पार ६९ को कार्ड बनाउँदै तेस्रो स्थानमा छन् । केही दिन अघि मात्रै सेन्टर ओपन विजेता भुवन नगरकोटीले भने पोखरामा कमजोर शुरुवात गरे । उनले पहिलो दिन १ ओभर ७० को कार्ड बनाउँदै चौथोस्थानमा रहदै पहिलो दिनको १८ होलको खेल टुग्याएका छन् ।

२ ओभर ७१ को कार्ड बनाउँदै विनोद तामाङ तथा उनीसँगै सुर्यप्रसाद शर्माले टाई खेलेका छन् । गतवर्षका वेष्टर्न ओपन गल्फ विजेता नेपाल आर्मी गल्फ क्लबका धनबहादुर थापाले भने खराब शुरुवात गरेका छन् । उनले ३ ओभर ७२ को कार्ड बनाउँदै मंगलबारको खेल टुंग्याएका छन् । उनीसँगै रितेश तामाङ र निरज तामाङले पनि समान ३ ओभर ७२ को कार्ड बनाउँदै टाई खेलेका छन् ।

रामकृष्ण श्रेष्ठले ४ ओभर ७३ खेले । घरेलु गल्फर भूबहादुर गुरुङ(भुवन)ले पहिलो दिनमै ७ ओभर ७६ को कार्डमा रहेर १८ होल टुंग्याए । ‘१८ औं होलमा त्रिपल बोगी खेपे । खोलातिर ओभी हिर्काएपछि त्रिपल बोगी खेल्न पुगें ’– उनले भने–‘त्रिपल बोगीले खेल नै एकातिर लैदियो ।’ व्याक नाईनका अन्य होलमा लेभल पार खेल्दै आएपनि १८ औं होलमा त्रिपल बोगी खेल्नपुगेको उनको भनाई थियो ।

एमेच्योर तर्फको प्रतिस्पर्धामा भने सुवास तामाङले अग्रता लिएका छन् । पोखराको कोर्षमा उनले १ ओभर ७० को कार्डमा पहिलो दिन टुग्याए । ५४ होल टुंगिदा २१ जनाले नगद पुरस्कार थाप्ने छन् । दोस्रो दिन ३७ जना प्रो मध्ये २१ जना अन्तिम प्रतिस्पर्धाको लागि छनोट हुने छन् । १४ जना एमेच्योरले प्रतिस्पर्धा गरेका छन् । कुल पुरस्कार राशी ७ लाख ३५ हजार रुपैयाँ रहेको छ ।