चितवनमाथि विराटनगरको रोमाञ्चक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २० गते २०७८ मा प्रकाशित


काठमाडौं, वैशाख २० । एफसी चितवनमाथि रोमाञ्चक जित निकाल्दै विराटनर सिटी फुटबल क्लब राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगर सिटीले चितवनमाथि २–० को जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पहिलो हाफमा गोल रहित बराबरी खेलेको विराटनगरले दोस्रो हाफमा आक्राम खेल पस्किएको थियो ।

काउन्टर गर्दै चितवनलाई दबाब दिएको विराटनगरका लागि पेड्रो मान्जी क्रुजले ७३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता निकालेका थियो । त्यसपछि ८९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै टोलीको जितको निश्चित गरे । १० मिनेट इन्जुरी समयमा चितवन खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

पहिलो हाफमा विराटनगरलाई दबाबमा राखेको चितवनले केही राम्रा अवसर पाएको थियो । तर चितवनको अग्रपंत्तिले अवसरलाई सदुपयोग गर्न असफल रहेको थियो । दोस्रो हाफमा भने विराटनगर हावी हुँदै चितवनलाई दबाब दिएर खेल पस्किँदा जित निकाल्न सफल भएको थियो ।
जितबाट शीर्ष स्थानमा उक्लिएको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ । गोल अन्तरका आधारमा विराटनगरले धनगढी फुटबल क्लबलाई पछि पार्र्दै शीर्षता कायम गरेको हो ।

उता अंक गुमाएको चितवनले चार खेलबाट मात्र २ अंक जोडेको छ । दुई खेलमा बराबरी र दुई खेलमा अंक गुमाएको चितवनले जारी लिगमा जित विहिन छ । यस्तै ललितपुर सिटी पनि जारी लिगमा जित विहिन टोली हो ।

प्रतियोगितामा मंगलबार बुटवल लुम्बिनी फुटबल क्लब र काठमाडौं रेजर्सबीच खेल हुनेछ । बुटवलले तीन खेलबाट ५ अंक जोडेको छ भने काठमाडौं रेजर्सको समान तीन खेलबाट ४ अंक छ । मंगलबार हुने खेलमा दुबै टोली अघिल्लो चरण प्रवेश गर्न स्पष्ट जितका लागि प्रतिस्पर्धा गर्नेछन् ।