मनाङ्गेको मन्त्री पद गुम्यो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित


प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ

पोखरा-मन्त्रीको सपथ खाँदै यो सरकार १०/१२ दिन टिक्ने अभिव्यक्ति दिएको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को मन्त्री पद गुमेको छ । केवल दश दिने मन्त्री बनेका उनको १० दिने कार्यकाल मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आईतबार राजीनामा दिएसँगै उनी कामचलाउ हुन पुगे ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले आफु विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने छनक पाएपछि आईतबार मुख्यन्त्रीबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख सीता पौडेलले स्वीकृत गर्दै तीन दिनभित्रमा नयाँ सरकार गठनको आह्वान समेत गरिसकेकी छन् । दश दिन मात्रै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका गुरुङले पोखरा रंगशालाभित्रमा गण्डकी प्रदेश खेलकुद परिषदको प्रशासनिक भवनको शिलान्यास गर्ने अवसर भने पाए । त्यो नै उनको औपचारिक कार्यक्रम थियो । स्वागत र सम्मान लिन नभ्याउँदै राजीव गुरुङको मन्त्री पद गुमेसँगै अब नयाँ बन्ने सरकारमा खेलकुदले मन्त्री पाउँछ या पाउँदैन भन्ने चासो खेलकुद क्षेत्रमा छ ।

मुख्यमन्त्री गुरुङले स्वतन्त्र रहेको राजीव गुरुङलाई मन्त्रीमा नियुक्त गर्दै आफनो कार्यकाल लम्ब्याउने योजनामा थिए । मुख्यमन्त्री गुरुङले मनाङगेलाई सामाजिक विकास मन्त्रालयबाट टुक्रयाएर युवा तथा खेलकुद मन्त्री बनाएका थिए । मनाङ्गेले बैशाख १६ गते आफनो खेलकुद मन्त्रीको पदभार सम्हालेका थिए । उनले जिम्मेवारी सम्हाले लगत्तै दुईसातामै सरकार ढल्ने अभिव्यक्ति दिएका थिए । ‘यो सरकार दुईहप्तामै जान सक्छ । मेरो सोच दुईचार वटा काम गर्ने हो ।’ उनले पद सम्हालेपछि भनेका थिए ।

मनाङ्गे मनाङ ख बाट प्रदेशमा निर्वाचित भएका हुन् । मनाङ्गेले २०७६ सालमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि हातपात समेत गरेका थिए । त्यही घटनाले उनको पुरानै शैली दोहोरिएको थियो । मन्त्री मनाङ्गेले आफनै कार्यकक्षमा पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पाउनुपर्ने पैसा विभिन्न संघसंस्था तथा अन्यलाई आवश्यक कागजपत्रसहित पेश गर्न आह्वान समेत गरेका थिए । कागजपत्र पेश हुन नपाउँदै उनको जिम्मेवारी गुम्दै कामचलाउ बन्न पुगेको हो ।