नेपालकै उचाईको टेनिस कोर्ट निर्माण बजेटले रोकियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ २४ गते २०७८ मा प्रकाशित


कास्कीको छोमरोङस्थित टेनिस कोर्ट निर्माणको क्रममा ।

पोखरा-दुई वर्ष अघि टेनिस कोर्ट बनाउन कस्सिएका स्थानीय युवाहरु अहिले बजेट अभावमा रोकिएका छन् । पोखराभन्दा पर पर्यटकीय गाँउ छोमरोङमा टेनिस क्ले कोर्ट निर्माण शुरु गरिएको थियो । दुई वर्ष अघि राष्ट्रिय खेलकुद परिषदले १५ लाख रुपैयाँ कोर्टको बनाउन छुट्टाईदिएको थियो । तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आफनो निर्वाचन क्षेत्रलाई लक्षित गरी बजेट छुट्टाईदिएका थिए ।

छुट्टाइएको बजेटबाट उत्साहित खेलकुदप्रेमीले कोर्ट निर्माण शुरु गरे । काम धमाधम गरियो । तर अहिले बजेटकै अभावमा निर्माणको गति सुस्तो हुन पुग्यो । ‘बजेट आएर हौसला थपियो । कोर्ट बनाउन कस्सियौं’ छोमरोङ खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष मिकास गुरुङले भने–‘अहिले पैसा सकियो काम रोकियो ।’

उनका अनुसार भिरालो जमिनमा साढे १० फिट पर्खाल उठाएर जमिन सम्याउने काम गरिएको छ । जग्गा १०० फिट लम्बाई र ५२ फिट चौडाईको छ । कोर्टसँगै एकतर्फ प्यारापिट समेत निर्माण गर्ने योजना निर्माण समितिको छ । छोमरोङमा निर्माण गरिने क्ले कोर्ट समुद्री सतहदेखि २१ सय मिटरको उचाईमा पर्छ । निर्माणपछि यो नेपालकै सर्वाधिक उचाईको टेनिस कोर्ट बन्ने विश्वास छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियरि अनिल अधिकारीका अनुसार क्ले कोर्ट ३६ मिटर लम्बाई र १९ मिटर चौडाईको हुन्छ । कोर्टको बेसलाईनबाट दायाँ बायाँ र पछाडि करीब ५ मिटरको छोड्नुपर्छ । उनका अनुसार अन्तराष्ट्रिय मापदण्ड अनुसारको कोर्ट बनाउन जग्गा उपयोग गर्न सकिने छ । ‘कोर्ट बनाउन स्थानीय गुन्जबहादुर गुरुङले जग्गा दान दिएका हुन् ।’ अध्यक्ष गुरुङले बताए ।

१५ लाखको काम सकिएपछि रोकिएको कोर्टलाई गण्डकी प्रदेश सदस्य राजीव पहारीले १० लाख रुपैयाँ उपलब्ध गराए । दशलाख रुपैयाँले समेत काम गरिएको छ । ‘कोर्टमा रातो माटो हालेर सम्याउन बाँकी छ ।’ अध्यक्ष गुरुङले भने–‘ईटाँको सुर्की(क्ले) हाल्ने हो । त्यसको लागि बजेट छैन् ।’ क्ले कोर्ट बनाइएपछि तत्कालै क्ले हाल्न नपाएपछि भलिबल खेल्नको लागि उपयोग गर्न सकिने उनको भनाई थियो । ‘योजना टेनिस कोर्ट हो । अझै २० लाख रुपैयाँ आवश्यक छ ।’ उनले सुनाए । सुर्की नहाल्दासम्म मैदानलाई भलिबल खेल्न उपयोग गर्न सकिने स्पष्ट पारे । कोर्टमा नेटसहित वरिपरी तारजाली लगाउनुपर्ने खाँचो छ । स्थानीयस्तरबाट डेढलाख रुपैयाँ आर्थिक सहयोग जुटाईएको थियो ।