क्रिकेट मैदानको डेढदशक, लियो आकार फेरिएन स्वरुप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ७ गते २०७८ मा प्रकाशित


१२ वर्ष अघि पोखरा रंगशालास्थित क्रिकेट मैदान निर्माणको क्रममा ।

पोखरा-ढुंगे क्रिकेट मैदानबाट अन्तराष्ट्रिय अवार्ड जितेको पोखरा रंगशालास्थित क्रिकेट मैदान डेढदशकमा आईपुग्दा आकार लियो तर रुप फेरिएन् । मैदान बन्यो तर केवल आकारमा मात्रै समेटियो । अन्य पूर्वाधार भने ज्यँुका त्युँ छन् । २०६४ सालमा निर्माण शुरु गरिएको मैदान अन्तराष्ट्रियस्तरको आकार लिएर पनि उस्तै दयनीय अवस्थामै छ ।

किर्तिपुरस्थिति टियु अन्तराष्ट्रिय क्रिकेट मैदानपछि सबैभन्दा बढी अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्ने अवसर पोखराकै मैदानले पाएको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा आयोजना गरिदैं आएपनि पूर्वाधार भने स्थानीयस्तरकै भन्दा पनि गएगुज्रेको छ । सरकारले जेठ १५ गते बजेट भाषण गर्यो । देशका विभिन्न ८ क्रिकेट मैदानलाई ५ करोड रुपैयाँ छुट्टाइयो । छुट्टाइएको बजेटले पोखरा रंगशाला क्रिकेट मैदानलाई भने छुन सकेन् ।

तीन तहको सरकार छ । स्थानीय, प्रदेश र संघीय सरकार बीच समन्वयको अभावले पनि खेलकुद पूर्वाधार रुमलिएको छ । पूर्वाधामा स्थानीय, प्रदेश र संघीय सरकार बीच समन्वयको खाँचो छ । एउटाको योजनालाई अर्कोले सपोर्ट नगर्ने परिपाटी छ । खेलकुदमा राजनीतिक नियुक्तिले पनि पूर्वाधार विकासमा प्रभाव पारेको ठम्याई छ । सरकार र कर्मचारी बीच समन्वय नहुदाँको पीडा योजनामा परेको प्रष्टै देखिन्छ ।

‘राजनीतिक पहँुचको अभाव, कर्मचारी र सरकार बीच समन्वयको कमजोरीले खेलकुद पूर्वाधार लगानी हुन सकेको छैन् ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकानत सिग्देलले भने–‘हिजो आईसिसीले पोखरामा सेन्ट्रल क्रिकेट एकेडेमी बनाउन चासो दिएको थियो । तर केन्द्रीकृत मानसिकताले बन्न सकेन् । हाम्रो लागि दुर्भाग्य हो ।’ बजेट फ्रिज हुने समस्या छ । दुईवर्ष पोखरा क्रिकेट मैदानको लागि एक करोड रुपैयाँ छुट्टाइएको थियो । तर अन्त्यमा बजेट फ्रिज हुन पुग्यो । ‘मैदानको एक्सपोज अन्तराष्ट्रिय जगतमा पुग्यो तर मैदानको अवस्था उस्तै छ ।’ उनको भनाई थियो ।

पोखरा रंगशालाको क्रिकेट मैदान बनाउन सरकारले १४ वर्षको अवधिसम्म आईपुग्दा एक करोड रुपैयाँ खर्चिएको छैन् । राष्ट्रिय खेलकुद परिषद मार्फत चालु आर्थिक वर्षको असार मसान्तसम्म जम्माजम्मी आधा करोड रुपैयाँ खर्चिएको छ । रंगशालाभित्र अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन क्रिकेटको सर्वोच्च निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले चासो दिएसँगै काम शुरु गरिएको थियो ।

नेपाल क्रिकेट संघले २०६४ सालमा तत्कालिन कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष डा. विरेन्द्रसिंह गुरुङको अध्यक्षतामा समिति गठन गर्दै काम अघि बढाएको थियो । तत्कालिन समितिमा संघका सचिव देवेनसन प्रजु, शिक्षासेवी अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लालचन लगायत थिए । मैदान बनाउन नेपाल क्रिकेट संघले २७ लाख रुपैयाँ खर्चिएको थियो । केही श्रमदान रह्यो । समिति अहिले पनि सक्रिय छ । समितिको खातामा केही रकम अझै मौज्दात छ ।

२०६८ सालमै निर्माणकै क्रममा राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलाईएको थियो । २०७० सालमा अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने राष्ट्रिय क्रिकेट टोलीको क्लोज क्याम्प पोखरामै शुरु गरेको थियो । अन्तराष्ट्रिय प्रतिस्पर्धा गराउने भेन्युको अवस्था विडम्बनायुक्त छ । ‘राज्यले छुट्टाएको बजेटले एउटै खेलमैदानमा लगानी गर्नुपर्छ । अर्को वर्ष अर्को ठाँउमा लगानी गरेर पूर्वाधार विकास हुन्छ नत्र थोरै बजेट दिदाँ काम सबैजसो आधाआधीमै रहन्छ’ नेपाली क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाले भने–‘लगानी भएका मैदान मर्मत सम्भार नै हुदैन् । त्यसले गर्दा लगानी गरेको खासै प्रभावकारी देखिदैन् ।’

परिषदले मैदानको लागि दशवर्ष अघि १३ लाख उपलब्ध गराएको थियो । १३ लाखले माटो भरियो । फेरी १० लाख रुपैयाँ क्रिकेट मैदानलाई बजेट छुट्टियो । त्यो १० लाखले पानीको पाईप जडान गरिएको थियो । चालु आर्थिक वर्षको असार मसान्तभित्र काम गर्ने गरी २५ लाख रुपैयाँ उपलब्ध गरायो । जसले तारजाली(फेन्सिङ)लगाउने काम भईरहेको छ । परिषद बाहेक क्यान र स्थानीयस्तरमै जुटाइएको सहयोगबाट मैदान निर्माण गरिएको थियो । ‘स्थानीय तहले समेत खेलकुद पूर्वाधार मर्मत सम्भार गर्ने तर्फ चासो र ध्यान पुर्याउनुपर्छ ।’ प्रशिक्षक टमटाले भने–‘लगानी मात्रै होईन मर्मत सम्भार निरन्तर भईराख्नुपर्छ । त्यसको लागि स्थानीय तहले व्यवस्थापन गर्नुपर्छ ।’

मैदानमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आयोजना गरियो । जुन आयोजनासँगै केही किर्तिमान बने । सन २०१५, ०१७ र ०१९ मा लगातार तीन वर्ष बेलायीत मेलिब्रोन क्रिकेट क्लबसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण प्रतिस्पर्धा खेलिसकिएको छ । दुई वर्ष अघि मलेसियाको राष्ट्रिय टोलीसँग नेपाली राष्ट्रिय क्रिकेट टोली र स्थानीय टोलीले दुई दिन मैत्रीपूर्ण खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमै खेलिएको थियो । ‘व्यस्त रहने मैदान भएपनि सरकारको लगानी भने उदेकलाग्दो छ’ क्रिकेटप्रेमीको गुनासो छ ।

१४ वर्षको अवधिमा मैदानमा खासै परिवर्तन भएको छैन् । ‘हिजो मैदान जस्तो थियो । अहिले पनि त्यस्तै छ । बाउण्ड्री बढाईयो । त्यो बाहेक उपलब्धी छैन् । साग आयोजना हुदाँ मेशिनरी सामान थपियो । त्यो नै उपलब्धी हो ।’ लामो समय क्रिकेट मैदानमा क्युरेटरको भूमिका निर्वाह गर्दै आएको पूर्वा क्रिकेट खेलाडी प्रदीप राउतले भने । उनका अनुसार पहिलो नै पाँचवटा पीच बनाईको थियो । अहिले पनि छ । प्राक्टिसको लागि सागमा नेट्स थपियो । यो आर्थिक वर्ष परिषदले दिएको २५ लाखले इनर फेन्सिङ शुरु गरिएको छ त्यो नै सबैभन्दा उपलब्धी मान्नुपर्ने उनको भनाई थियो ।

आईसिसीको डेभलपमेन्ट प्रोजेक्ट गुमेसँगै पोखरा रंगशाला क्रिकेट मैदानले विकासको फड्को मार्न सकेन् । नेपालले क्रिकेटमा एकदिवसीय मान्यता पाएसँगै मैदान निर्माणले गति लिएको हो । यद्यपी पोखराको मैदानले अपेक्षाकृत परिवर्तन पाउन सकेको छैन् ।