खोप नपाउँदा खेलकुद क्षेत्र निराश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १ गते २०७८ मा प्रकाशित


कोरोना विरुद्धको खोप लगाँउदै । तस्बिर फाईल ।

पोखरा-कोरोना विरुद्धको खोपको प्राथमिकतामा खेल क्षेत्र अझै परेको छ । खेलाडीले खोप लगाउन पाएका छैनन् । खेलकुद क्षेत्र निराश छाएको छ । मोफसलका खेलाडीहरुले खोप पाएका छैनन् ।

राष्ट्रको अन्तराष्ट्रिय एरिनामा झण्डा बोक्ने खेलाडी यतिबेला घरमै बसेर दिनबिताईरहेका छन् । सरकारले पनि खेलकुद क्षेत्रलाई समेत भीडभाड हुने क्षेत्रमा राख्दै आगामी साउन ५ गतेसम्म कुनैपनि गतिविधि नगर्न सूचना जारी गरेको छ । साउन ५ गतेसम्म निषेधाज्ञा लम्बिएपछि खेलकुद क्षेत्र ठप्पै जस्तो छ ।

‘पहिला सरकारले उपब्ध गराएको थियो । तर खेलाडीहरु लगाउन गएनन÷चाहेनन् । अहिले खोप छैन् । हामीले सबै प्रदेशका खेलाडीलाई लगाउन १५ हजार डोज माग गरेका छौं’, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य सम्पन्न श्रेष्ठले भने–‘सरकार माग गरिएको छ । उपलब्ध गराएको अवस्थामा सबै प्रदेशका खेलाडीलाई खोप लगाउने बातावरण बन्छ ।’ उनका अनुसार राष्ट्रिय युवा संघको पहलमा सागमा पदक विजेता केही खेलाडीहरुलाई खोप लगाईसकिएको छ ।

फ्रन्टलाईनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र सञ्चारकर्मीले लगाईसकेपछि चरणबद्ध खोप उपलब्ध हुदैं आएको छ । ज्येष्ट नागरिक, त्यसपछि विश्वविद्यालयका प्राध्यक्षक, विद्यालयका शिक्षक हुदैं सवारी साधन चलाउने चालक तथा सहचालकलाई समेत खोपको व्यवस्था सरकारले गरिसकेको छ । तर खेलकुद क्षेत्रलाई खोप उपलब्ध गराउन नसक्दा खेलाडी प्रशिक्षणविहीन बस्नुपर्ने बाध्यता छ ।

स्वास्थ्यका लागि खेलकुद भन्ने गरिन्छ । स्वास्थ्य रहन शारीरिक अभ्यास जरुरी छ । तर रंगशाला बन्द छन् । बन्द हुदाँ खेलाडीले प्रवेश पाएका छैनन् । प्रवेश नपाउँदा घरमै त्रसित अवस्थामा बस्नुपरेको छ । खेलाडीलाई खोप उपलब्ध गराई प्रशिक्षणको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएपनि चासो भने नदिइएको गुनासो खेलाडीहरुको छ ।

खेलकुदसँग सम्बन्धी निकायले खोपप्रति चासो नदिदाँ खेलाडीहरु खोप लगाउनबाट बन्चित भएको गुनासो छ । खेलकुद हाक्ने संस्थाका व्यवस्थापकीय जिम्मेवार निकायले पहल नगरेको आरोप समेत छ । ‘खेलकुद निकायमा बस्ने पदाधिकारीले खोपको पहल गर्नुपर्ने थियो । व्यवस्थापकीय कमजोरीले खेलाडीले खोप पाउन सकेका छैनन्’–‘राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका उपाध्यक्ष राजन पौडेलले भने–‘जिम्मेवारी निकाय मौन बस्दा खेलाडी संघ नै खोपको लागि पहलकदमी गरेको छ ।’ उनका अनुसार खेलाडीको हकहितकै लागि खेलाडी संघ अग्रसर बन्नुपर्ने अवस्थामा खेलाडीलाई खोप उपलब्ध गराउन खेलाडी संघले परिपत्र गरेको छ ।

जिल्ला तथा गण्डकी प्रदेश खेलकुद समिति गठन भईसकेको छ । गठन भएपनि खोपको लागि ताकेता नहुदाँ खेलाडी खोप पाउनबाट बिमुख छन् । पोखरा महानगरपालिका खेलकुद समितिले पनि खोपको लागि महानगरसँग समन्वय गरेको छ । ‘खेलाडीलाई खोप उपलब्ध गराउन पत्र पठाईसकिएको छ । सकारात्मक छन् । आशा गरम छिट्टै उपलब्ध हुने छ ।’ महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘खोप लगाएपछि खेल प्रशिक्षण सहज हुने छ ।’ गण्डकी प्रदेश खेलकुद परिषदले पनि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा १३ औं सागमा सहभागि खेलाडीहरुलाई खोप उपलब्ध गराउनुपर्ने माग गर्दैै आएको छ । तर खोप उपलब्ध नहुदाँ खेलाडीमा निराशा छाएको छ ।