असोज दोस्रो साता केन्पो खुकुरी नेशनल च्याम्पिनसीप

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १७ गते २०७८ मा प्रकाशित


पोखरा-आगामी असोजको दोस्रो साता केन्पो खुकुरी नेशनल च्याम्पिनसीप प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी असोज ८ र ९ गते काठमाडौंमा हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । जेठठ महिनामा बुटवलमा आयोजना गर्ने भनिएको नेशनल च्याम्पिनसीप कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघ केन्दीय समितिका अध्यक्ष पूर्ण पाण्डेले जानकारी गराए । उनले आगामी भदौ १ गतेदेखि केन्पो खुकुरीको प्रशिक्षक प्रशिक्षण संचालन गरिने बताए ।

प्रतियोगितामा ७ वटै प्रदेशबाट खेलाडी छनोट गरिने उनले बताए । ‘जिल्लास्तरको प्रतियोगिता अहिले भइरहेको छ । सो प्रतियोगिता सकिएपश्चात प्रदेशस्तरीय प्रतियोगिता गर्छौं । ७ वटै प्रदेशबाट छानिएका खेलाडीहरुले नेशनल च्याम्पिनसीपका लागि भिड्नेछन् ।’, उनले भने ।

अध्यक्ष पाण्डेले प्रतियोगितामा २० देखि ३० वर्ष उमेरसमूहका महिला पुरुष खेलाडीको सहभागिता हुने बताए । उनका अनुसार प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद एक लाख रुपैयाँ र पदक सहित पुरस्कृत गरिनेछ । यस्तै उपविजेताले नगद २५ हजार रुपैयाँ र पदक प्राप्त गर्नेछ । करिब ३ सय खेलाडी क्लोज क्याम्पमा बसेर प्रशिक्षण लिइरहेको भनाइ उनको छ । एक स्थानीय निकायमा एक सय खेलाडी उत्पादन गर्ने गरी संघले आफ्नो गतिविधिलाई तिव्रता दिएको पाण्डेले बताए ।

उनले अहिले सम्म राज्यबाट वा बाह्य संघसंस्थाबाट रकम लिएर आफुहरु परिचालित नभएको जानकारी गराए । संघमा आबद्ध भएका सदस्यहरु मार्फत नै रकम उठाएर कार्यालय संचालन गरिरहेको भनाई उनको छ । राष्ट्रिय खेलकुद परिषद९राखेप० मा आबद्ध संस्था भएकाले आगामी दिनमा भने राज्यसँग पनि समन्वय गरी खेलकुदका गतिविधिलाई निरन्तरता दिने योजनामा संघ रहेको उनले बताए । केन्पो एक मार्सल आर्ट भित्रकै खेल भएको पाण्डेले बताए । नेपालीको सान खुकुरीको प्रचारप्रसारमा टेवा पु¥याउन उक्त खेल मार्फत मदत पुग्ने विश्वास उनको छ ।

नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको गठन भएको चार वर्ष पुग्यो । यसघडि संघले संगठन विस्तारलाई तिव्रता दिएको छ । संघका सचिव एवं प्रचार विभाग प्रमुख सुरेन्द्र गुरुङले हालसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा संगठन विस्तार गरिएको जानकारी गराए । प्रदेश मातहतका जिल्लामा समेत संगठन विस्तार भएको र आगामी दिनमा ७७ वटै जिल्लामा संगठन विस्तार गर्ने योजनामा संघ छ । गुरुङले नेपालका लागि केन्पो नयाँ खेल भएकाले अहिले आफुहरुले खेलाडी उत्पादनमा जोड दिएको बताए ।