लोमान्थाङमा हाई अल्टिच्युड गल्फ क्लब निर्माण गरिने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २१ गते २०७८ मा प्रकाशित


लोमान्थाङ–५ लोवाथाङस्थित हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणस्थल । तस्बिर फाईल

पोखरा-एक दशकअघिसम्म मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ सर्वसाधारणको पहुँच कम थियो । उपल्लो मुस्ताङमा यात्रा सहज थिएन । तर अहिले यातायातको सहज पहुँच छ । सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । लोमान्थाङ प्राकृतिक रुपमा मात्रै नभइ अब हाई अल्टिच्यड खेलकुदको गन्तव्य बन्ने अभियानमा छ । खेलकुदका पूर्वाधार थपिएका छन् । अहिले कोरोनाको महामारीकै बीचमा खेलाडीलाई खोप लगाई फुटबल तथा भलिबल प्रतियोगिता चलिरहेको छ ।

लोमान्थाङ–५ लोवाथाङ हाईअल्टिच्युड गल्फ कोर्ष निर्माणको योजना अघि बढाइएको छ । भदौभित्रमा गल्फ क्लब निर्माणको लागि प्राविधिक टोलीसहित लोमान्थाङ पुग्ने छ । ‘लोमान्थाङमा स्पोर्टस टुरिज्म प्रवद्र्धन गर्न हाईअल्टिच्युड गल्फ क्लब निर्माणको योजना छ । सम्भव भदौको पहिलो साता प्राविधिक सहितको टोलीले अध्ययन गर्ने छ ।’ स्थानीयबासी एवं गण्डकी प्रदेश सदस्य इन्द्रधारा विष्टले बताए । उनका अनुसार भदौभित्र एकसाता बसेर प्राविधिकको सल्लाह र रेखांकन अनुसार ९ होल बनाउने योजना छ ।

लोवाथाङ लोमान्थाङदेखि आधाघण्टाको दुरीमा पर्छ । समुद्री सतहदेखि ४६ सय ४५ मिटरको उचाईमा छ । लोमान्थाङदेखि पश्चिम पर्छ । गल्फ क्लब निर्माणपछि विश्वकै सर्वाधिक उचाईको गल्फ क्लब बन्ने छ । ‘पहिला फिल्ड हेर्नुपर्छ । फिल्ड हेरेपछि मात्रै ९ होल या १८ होल कुन उपयुक्त हुन्छ त्यही बनाउने विषयमा निर्णय हुन्छ ।’ नेपाल गल्फ संघका केन्द्रीय सदस्य भुबहादुर गुरुङ(भुवन)ले भने–‘फिल्ड भएसम्म फराकिलो बनाउन उपयुक्त हुन्छ ।’ उनका अनुसार ९ होललाई फिल्ड भएअनुसार ४ हजार यार्डसम्म बनाउन सकिन्छ ।

९ होल बनाउन सामान्यत ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ‘टि बक्स, फेयर वे, ग्रिन बनाउनुपर्छ’ उनले भने–‘फ्रन्ट नाईन र व्याक नाईनको टिबक्स हुनुपर्छ । महिला गल्फरलाई ध्यानमा राखेर समेत टि बक्स बनाए राम्रो हुन्छ ।’ उनका अनुसार ग्रिनलाई बुटिक शैलीमा बनाउनुपर्छ । ‘लोमान्थाङको प्रकृति र बस्तुस्थिति झल्कने गरी होलहरुको नाम राख्ने हो । त्यही अनुसार ग्रिनको डिजाईन गर्नुपर्छ जुन अन्यको भन्दा ‘युनिक’ होस ।’ उनका ेभनाई थियो ।

अहिले विश्वकै सर्वाधिकक उचाईको गल्फ क्लब भारतको सिक्किममा छ । सिक्किमको ३ हजार ९ सय ७० मिटरको उचाई याक गल्फ क्लब छ । बोलिभिको ला पाज गल्फ क्लब ३ हजा २ सय ६० मिटरको उचाईमा छ । जुन विश्वकै दोस्रो अग्लो स्थानको गल्फ क्लब हो । त्यस्तै चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब ३ हजार ३८ मिटरको उचाईमा छ । अमेरिककाको कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटरको उचाईमा छ ।

उपल्लो मुस्ताङमा गल्फ क्लब निर्माणपछि हाईअल्टिच्युडको खेलकुद गन्तव्य बन्ने छ । गतवर्षदेखि पाँच करोडको गुरुयोजनासहित फुटबल मैदान, बास्केटबल तथा भलिबल कोर्ट निर्माण शुरु गरिएको छ । लोमान्थाङ गाउँपालिकाको किमलिङ–६ मा फुटबल मैदानसहितको खेलकुद पूर्वाधार निर्माण शुरु गरिएको हो । गतवर्ष संघीय सरकारले उपलब्ध गराएको १ करोड रुपैयाँबाट फुटबल मैदान निर्माण शुरु गरिएको थियो । किमलिङ–६ मा निर्माणाधिन खेलग्राम ३ सय ८ मिटर लम्बाई र १२० मिटर चौडाईको छ । निर्माणाधिन खेलग्राममा फुटबल मैदानसहित ९ लेनको एथलेटिक्स ट्रयाक(सिन्थेटिक) बनाइने छ । ९ लेनको ट्रयाक भने गण्डकी प्रदेशमै छैन् । गण्डकी प्रदेशकै राजधानी पोखरा रंगशालामा निर्माण गरिएको एथलेटिक्स ट्रयाक ८ लेनको बन्ने छ ।