पाउँदुरकोट युवा क्लबले सी डिभिजन लिग खेल्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १० गते २०७८ मा प्रकाशित


सी डिभिजन लिगको तयारीमा जुट्दै कास्कीको अन्नपूर्ण गाँउपालिकाको पाउँदुरकोट युवा क्लबका खेलाडीहरु ।


पोखरा-कास्कीको ढिकुरपोखरी पोखराको बजार देखि २५किलोमिटर टाढा पर्छ । टाढा भएपनि फुटबलमा आफनो यात्रा सी डिभिजनबाट शुरु गर्ने योजना बनाएको छ । अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन् । आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले तयारी गरेका छन् । दुरदराजको क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको हो ।

प्रशिक्षण गर्दै पाउँदुरकोट युवा क्लब ढिकुरपोखरीका खेलाडीहरु ।

गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन् । माछापुच्छ्रे शिक्षा माविको खेल मैदानलाई केही स्तरोन्नति गरिएको छ । त्यही मैदानमा जेनतेन खेलाडीले सी डिभिजनको लागि प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षकको जिम्मेवारी सुविन श्रेष्ठले लिएका छन् । पाउँदुरकोटले यही भदौ २९ नयाँपाटी युथ क्लब(काठमाडौं) र असोज २ गते गोरक्ष स्पोर्टिङ क्लब(काठमाडौं)सँग प्रतिस्पर्धा गर्ने छ । झण्डै एक महिनाको प्रशिक्षण गरेर टोली तयार गरिएको छ ।

‘जितेर आएपनि सिकेर आएपनि खेलाडीलाई प्लेटफर्म पाउन भन्ने ध्येय हो ’ पाँउदुरकोट युवा क्लबका अध्यक्ष ईश्वर पौडेल शर्माले भने—‘गाँउकै खेलाडी व्यवसायिक तर्फ उन्मुख होउन भन्ने चाहना हो ।’ उनका अनुसार सी डिभिजन लिग खेल्ने खेलाडी सबै गाँउपालिकाभित्रैका छन् । बजार क्षेत्रका युवाहरु सहभागिताको लागि आएपनि क्लबले गाँउपालिकाकै युवालाई प्रोत्साहन गर्ने उद्देश्यले पालिकाभित्रैका युवालाई प्रशिक्षण दिई टिम तयार गरिएको उनले बताए ।

पाउँदुरकोट युवा क्लब खेलाडीहरु ।

गाँउपालिका भन्दा बाहिर क्लबको पहिलो प्रतियोगिता हो । कोरोनाको कहरले एकातिर गाँजिरहेको बेला क्लबले खेलाडीलाई सी डिभिजन लिगमा उतार्ने लक्ष्य र योजनासहित झण्डै एक महिना कडा मेहनत गराउँदै आएको छ । ‘६२ जना युवा प्रशिक्षणमा आएका थिए । उनीहरुबाट ३० जना राखेर बन्द प्रशिक्षण गराईयो ।’उनले भने—‘त्यसपछि १८ जनालाई छनोट गरियो । बाँकी ५ जना भने १२ जनाबाट छानिने छ ।’
गाँउपालिकाले पनि टिमलाई सहयोगको प्रतिबद्धता जनाएको छ । गाँउपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । खर्चको जोहो क्लबले चन्दा संकलन गरेर गरेको छ । साथीभाइको शुभेच्छा र खेलप्रेमीको सहयोगले खर्च जुटाउँदै आएको उनको भनाई थियो । कास्कीको प्रतिनिधित्व गरेर सी खेल्ने पाउँदुरकोट क्लब एकमात्रै हो ।

सि डिभिजन लिग खेल्ने अन्तिम तयारीमा रहेका पाँउदुरकोट युवा क्लब ढिकुरपोखरी ।

‘बजारको क्लबहरु ओझेलमा छन् । दुरदराजको क्लबले सी खेल्ने जमर्को गर्नु नै आफैंमा महत्वपूर्ण हो’ क्लबका प्रशिक्षक सुविन श्रेष्ठले भने—‘पोखरादेखि २५ किलोमिटर टाढाको क्लब जहाँ फुटबलको लागि पर्याप्त पूर्वाधार छैन् । त्यहाँको क्लब सी खेल्न कस्सिएको छ ।’ उनका अनुसार पोखराका क्लबस्तरीय लिग च्याम्पियनदेखि ठूला क्लबहरु सी डिभिजन खेल्न नसक्दा कास्कीको इज्जत भने पाउँदुरकोटले धानिदिएको छ ।

ढिकुरपोखरीमा एउटामात्रै मैदान छ । जुन सेभेन ए साईड खेल्न योग्य छ । त्यसलाई सामान्यस्तरोन्नति गरिएको छ । एक स्थानीय तह एक खेल मैदान सरकारी नीति अनुसार तीन वर्ष अघि तत्कालिन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले उपलब्ध गराएको ५० लाख रुपैयाँबाट प्यारापिट तथा चेन्जिङ रुम निर्माण गरिएको छ । स्तरोन्नति गरिएको मैदानमा पाँउदुरकोट युवा क्लबले सी डिभिजनमा आफनो क्षमता र प्रतिभा देखाउन उद्दत छन् । सी डिभिजनमा ७८ क्लब छन् । ती क्लबहरु बीच छनोटको लागि प्रतिस्पर्धा हुने छ ।