विदेशी रेफ्रीकै भरमा खेल्नुपर्ने खेल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १९ गते २०७८ मा प्रकाशित


सुदुर पश्चिमसँग प्रतिस्पर्धा गर्दै गण्डकी प्रदेश । फाईल तस्बिर

पोखरा-केही खेल यस्ता छन् । जसको पूर्वाधार छैन् । पूर्वाधार मात्रै होईन खेल खेलाउने निर्णायक(रेफ्री) समेत विदेशीको भर पर्नुपर्छ । विदेशीलाई गुहारेर प्रतियोगिता सञ्चालन गर्नुको विकल्प छैन् ।

पोखरामा निकै प्रचलित र स्कुलदेखि नै प्रवद्र्धन गरिएको ह्याण्डबल खेल र पोखरामा पूर्वाधारको अभावमा रुमलिएको हक्कीको लागि विदेशी निर्णायक नै झिकाउनुपर्छ । विराटनगरमा आयोजित सातौं तथा नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलको पुरुष तर्फ र हक्कीको महिला तथा पुरुष दुवै प्रतिस्पर्धाको लागि विदेशी प्रशिक्षक झिकाई प्रतियोगिता पुरा गरियो । गण्डकी प्रदेशमा यतिबेला नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छ । आन्तरिक तयारी थालनी गरिदैं छ । सबैजसो खेलका केहीहदसम्म खेलाडीले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । दोस्रो डोजको खोप लगाईसकेपछि प्रशिक्षण शुरु गरिने गण्डकी प्रदेश खेलकुद परिषदले योजना बनाएको छ । नवौं राष्ट्रिय खेलकुदको तयारी गरेपनि निर्णायक भने विदेशी नै ल्याउनुपर्ने बाध्यता अझै हटेको छैन् ।

‘पुरुषको ह्याण्डबल रेफ्री नै छैन् । कन्ट्याक्ट गेम भएकोले कसैले पनि रिक्स लिन चाहदैनन् ’ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेजबहादुर गुरुङले भने–‘विभागीय टीम बीचको प्रतिस्पर्धा टुग्याउन नेपाली निर्णायकले नसक्ने हुदाँ विदेशी नै ल्याउनुपर्न अवस्था छ ।’ गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव समेत रहेका गुरुङले नेपाली निर्णायकमा क्षमता भएपनि आत्मविश्वास नहुदाँ समस्या पर्ने गरेको बताए । ‘निर्णायकमा सिनियर खेलाडीले जिम्मा लियो भने विदेशी निर्णायक ल्याउनुपर्दैन्’ उनले भने–‘जुनियरलाई सिनियरले धम्क्याउने प्रवृत्तिले पनि जुनियर निर्णायक बस्न मान्दैनन् ।’ निर्णायकको लागि अध्ययन हुनुपर्छ । अध्ययन विना निर्णय दिनै सकिदैन् । मनोविज्ञानमै असर परेपछि भएकाहरु निर्णायकहरु प्नि छोड्दै गएका छन् । ‘युवाहरुलाई प्रोत्साहित गरेर तालिम पनि गरियो । तर गेम खेलाउन आत्मविश्वासकै कमि देखियो ।’ उनको भनाई थियो । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेको गुरुङले अब निर्णायकमा आत्मनिर्भर हुनै पर्ने दवाव रहेको उल्लेख गरे ।

नेपाली निर्णायक नहुदाँको पीडा हक्कीले वर्षौदेखि भोग्दै आएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदाँ विदेशी निर्णायक नमागउँदासम्म सिठ्ठी फुकिदैन् । ‘नेपालमा रेफ्री छन् तर सबै प्रशिक्षकहरुले गर्नुपर्छ । प्रशिक्षकले टिम सम्हाल्दा निर्णायक विदेशबाटै ल्याउनुपर्छ ।’ नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । उनका अनुसार नेपालमा ८ जना प्रशिक्षक छन् । ८ जना प्रशिक्षकले निर्णायक समेत हुन् । तर टिमलाई प्रशिक्षण दिनुपर्ने बाध्यता रहँदा निर्णायक बस्न पाउँदैन् । भएका प्रशिक्षक प्रशिक्षणमा व्यस्त हुनुपर्दा विशेष गरी भारतबाटै निर्णायक ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।

यतिबेला कोरोनाको कहर छ । कोरोनाको कहरसँगै खेलकुदका गतिविधि शून्य प्राय नै छन् । संघको आन्तरिक स्रोत समेत छैन् । स्रोत नहुदाँ एशियन हक्की महासंघले सहयोग गर्दै आएको छ । ‘एशियन हक्क महासंघले अनलाईन कोचिङ टे«निङ दिदैं आएको छ ’ उनले भने–‘अनलाईन कोचिङलाई अब प्रतियोगिताकै दौरानमा प्रशिक्षण गराएपछि स्वदेशी निर्णायक उत्पादन हुन्छन् ।’ नवौंको संघारमा रहँदा हक्कीले पनि आवश्यक पूर्वाधारको अभाव झेल्दै आएको छ । तीन वर्ष अघि पोखरामा आयोजित सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता आर्चरी खेल मैदानमा सम्पन्न गरिएको थियो ।