डेब्यु खेलाडी चम्किँदा नेपाललाई सफलता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण नेपालले खेलमा २–१ को जित निकालेको हो ।

सुरुआतमा केही दबाब खेपेको नेपालका लागि १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन । विमला चौधरीको क्रस बललाई सबिताले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । अग्रता लिएपछि भ्रमणकारी बंगलादेशमाथि हाबी बनेको नेपालका लागि २३औं मिनेटमा प्रितीले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।

सरु लिम्बुले मिडफिल्डबाट निकालेको पासमा शानदार गोल गर्दै राष्ट्रिय टोलीका लागि इतिहाँस रच्न सफल भइन् । नेपालका लागि गोल गर्ने दुबै खेलाडीले डेब्यु गरेका हुन र गोल पनि गर्न सफल भएका हुन ।

पहिलो हाफमा २–० को अग्रता निकाल्दै राम्रो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भने पहिलो हाफको जस्तो लयलाई निरन्तरता दिन सकेन । खेलको ८४ औं मिनेटमा बंगलादेशकी खातुनले गोल फर्काउँदै अग्रता छोट्याए पनि बाँकी समयमा थप गोल दुबै टोलीबाट हुन सकेन र नेपालले २–१ ले खेल पक्षमा पा¥यो । प्रिती राई मोस्ट भ्यालुएबल खेलाडी घोषित भईन ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुने तालिका रहेको छ ।