‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौं’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १७ गते २०७८ मा प्रकाशित


पोखरा-खेलाडीको एउटैमात्र गुनासो छ–‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन् । मैदान र पीच मर्मतको खाँचो छ । राष्ट्रिय खेलकुद परिषदले २५ लाख रुपैयाँ पठाईदियो । तारजाली लगाई मैदान संरक्षण गरियो । संरक्षण गरिएको मैदान अहिले काँसले छेकिएको छ । सर्प लुक्ने ठाँउ बनेको छ । खेलाडी मैदान बाहिरैबाट हेरेर फर्किदै चित्त बुझाउँछन् ।

कोरोनाले थलिएको खेलकुद विस्तारै चलमलाउन थालेको छ । खेलाडीले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । खोपसँगै खेलाडी खेल्न आतुर छन् । तर क्रिकेट मैदानको हविगत देखेर अध्यँरो अनुहार गरेर फर्किने गरेका छन् । क्रिकेटका गतिविधि शून्य छ । संघसँग ठोस योजना छैन् । योजना बनाउने संघभित्रैका पदाधिकारी चारदिशा फर्किएका छन् । सदस्यहरु पनि पदाधिकारीलाई क्रिकेट विकासको योजनाको सुझाव दिन ल्याकत राख्दैनन् ।

कोरोनाले थलिएपछि क्रिकेट विकासको लागि संघले कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन् । संघकै सुस्तताले कास्कीको क्रिकेट कमजोर बन्दै गएको छ । प्रतियोगितात्मक कार्यक्रम नहुदाँ खेलाडीले एक्सपोज हुने अवसर समेत पाएका छैनन् । ‘मैदानको दुदर्शा छ । कहिले मर्मत सम्भार भएर खेल्न पाउने हो ।’ पोखरा क्रिकेट क्लबका सचिव गोविन्द प्रधानले भने–‘एउटै गुनासो हो खेलाडीले मैदानमा कहिले खेल्न पाउँछन् ।’ संघको कार्यक्रम छैन् । प्रदेश क्रिकेट संघले पनि कार्यक्रम ल्याउन सकेको छैन् । क्लस्तरीय प्रतियोगिता नहुदाँ नयाँ खेलाडी क्रिकेटमा आउनै नसकेको उनको भनाई थियो ।

मैदान मर्मत सम्भार भएको छैन् । प्रतियोगिताहरु हुनै नसक्दा खेलाडी एक्सोजबाट बन्चित छन् । खेलाडीले नेट्स मात्रै प्राक्टिस गरेर कुनै अर्थ नहुने भन्दै उनले जबसम्म खेलाडीले आफुलाई एक्सपोज गर्ने अवसर पाउँदैनन् तबसम्म क्रिकेटको विकास नहुने दावी गरे । खेलाडीलाई एक्सपोजको लागि जिल्ला संघ र प्रदेश संघले कार्यक्रम ल्याउन जरुरी रहेको उनको ठम्याई छ ।

नेपाल क्रिकेट संघ(क्यान)का क्युरेटर प्रदीप राउतका अनुसार मैदानको दक्षिण क्षेत्रमा पानी जम्ने समस्याले घाँस काटेपनि छिट्टै पलाउँदा मैदानमा कामै नगरेको जस्तो देखिएको छ । ‘मैदानभित्र पानीको निकास छैन् । पानी सबै क्रिकेट मैदानको दक्षिण तर्फ जम्छ ।’ उनले गुनासो गरे–‘तीन पटक घाँस काटेपनि उस्ताको उस्तै छ ।’ घाँस काट्दा पनि मैदान सफा हुन नसक्दा पीरलो थपिएको छ । क्युरेटर राउतले पीच रोलर लगायतका अन्य मेशिन भने ठीकठाक रहेको बताए । असोज मध्य सकिदाँ पनि पोखरामा नियमितजसो पानी परेको छ ।

मैदान मर्मत सम्भार गर्न घाँस काट्नुपर्छ । घाँस काट्ने मेशिन समेत बिग्रिएको छ । ‘आउट फिल्डको घाँस काटे हुन्छ । पीच बनाउन नियमित काम गर्ने कामदार चाहिन्छ’ उनले भने–‘दशैंको मुखमा कामदार पाउन कठिनाई छ । त्यसैले दशैं अघि पीच मर्मत सम्भार गर्न गाह्रो छ ।’ कास्की जिल्ला क्रिकेट संघले पनि आर्थिक अभावैले मैदान संरक्षण हुन नसकेको प्रति असहमति जनाएको छ । यद्यपी उनले कार्यसमितिकै निष्क्रियताले काम गर्न कठिनाई भएको गुनासोलाई भने स्वीकार्छन् ।

‘पैसाको समस्याले होईन् । भएको दुईवटा घाँस काट्ने मेशिन थन्किएको छन् । बिग्रिएको मेशिन मर्मत सम्भारको लागि वर्कसपमा राखिएको छ । पार्टस नआउँदा बन्न सकेको छैन् ’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘पार्टस आएर बनेपछि मात्रै मैदानको घाँस काटिन्छ ।’ संघसँग अहिले क्रिकेट प्रशिक्षक समेत छैन् । प्रशिक्षक नहुदाँ प्रशिक्षण समेत गराउन कठिनाई रहेको उनको भनाई थियो । ‘संघसँग प्रशिक्षक छैन् । प्रशिक्षक नहुदाँ प्रशिक्षण भएको छैन् । नेट्स छ । त्यसैमा खेलाडीहरुले प्राक्टिस गर्दै आएका छन् ।’ उनको भनाई थियो ।