कास्कीमाथि नवलपुरको रोमाञ्चक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०७८ मा प्रकाशित


पोखरा-दुई बलमा जितको लागि एक रन चाहिएको अवस्थामा नवलपुरका कप्तान दिपक डुम्रेले एकरन लिदैं कास्कीमाथि १ विकेटको रोमाञ्चक जित निकाल्यो । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित वाई वाई यु—१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार कास्कीले दिएको १३७ रनको लक्ष्यलाई अन्तिम ओभरको अन्तिम बल बाँकी रहदाँ नवलपुरले जितको खुशी मनायो । किरण पौडेलको अन्तिम ओभरमा दुई बल बाँकी रहँदा जितको लागि एक रन चाहिएको थियो । कप्तान डुम्रेले एक रन जोडेपछि जित पक्का भएको थियो ।


नवलपुरले टस जितेर फिल्ड रोज्दै कास्कीलाई व्याटिङको निम्तो दियो । प्रदेश छनोट प्रतियोगिताको दोस्रो दिन कास्कीले १३६ रन बनाउने क्रममा सबै विकेट गुमाउन पुग्यो । पहिलो ओभरमा कास्कीले भरपर्दा व्याटर अर्जुन कुमाललाई गुमायो । दोस्रो ओभरमा सोहेललाई कुवँरलाई एक रनमा गुमायो । तेस्रो ओभरमा कास्कीले अभिषेक थापालाई एक रनमै गुमाउदाँ कास्की दबावमा परेको थियो ।

तेस्रो विकेटको लागि सिब्रिन श्रेष्ठ र कप्तान सुवास भण्डारीले ६८ रनको महत्वपूर्ण साझेदारी गरे । ६६ बल खेल्ने क्रममा श्रेष्ठले ३४ रन जोडे । उनले ४ चौका र १ छक्का हिर्काउँदै उत्कृष्ट पारी खेले । कप्तान भण्डारीले २७ रन जोड्न ७३ बल खेल्न पुगे । आयुष सैंजुले १७ बलमा २५ रन जोड्ने क्रममा ३ चौका हिर्काएका थिए । किरण पौडेलले १६ रन जोडे ।

नवलपुरका सुदीप अर्यालले ८ ओभरमा २६ रन खर्चिएर ३ विकेट लिए । कमल परियारले ८ ओभरमा ३ मेडन राख्दै १२ रन खर्चिएर २ विकेट लिदाँ स्वीकार श्रेष्ठले पनि ८ ओभरमा १ मेडन राख्दै २८ रन खर्चिएर २ विकेट नै लिएका थिए ।१३७ रनको जितको लक्ष्य पछ्याउने क्रममा नवलपुरले पनि शुरुवात भने उत्कृष्ठ देखाउन सकेन् । गोविन्द विश्वकर्मालाई शून्य रनमै सुवास भण्डारीले एलबीडब्लुको धरापमा पार्दै पहिलो विकेट निकाले । प्रनिस अर्याललाई स्पीनर नितेश गिरीले २ रनमै पभेलियनको बाटो देखाउँदै नवलपुरलाई दबावमा राखे ।

तेस्रो विकेटको लागि नविन मल्ल र भुपेन पुनले ३३ रनको साझेदारी निभाउँदै दबावलाई कम गरे । मल्लले २० रन जोड्न ७० बल खर्चिए । पुनले २१ रन बनाउन २९ बल खेले । दुई चौका र एक छक्का हिर्काए । नवलपुरका कप्तान डुम्रेल कप्तानी पारी खेल्ने क्रममा नटआउट ४६ रनमा रहे । उनले जितसम्म डोहोर्याउने क्रममा ७४ बलको सामना गरे । उनीपछिका व्याटरले भने दोहोरो अंकको रन जोड्न असफल भएपनि अन्तिमसम्म उनी क्रिजमै टिकिरहे । कप्तान भण्डारीले ८ओभरमा ३ मेडन राख्दै १९ रन दिएर ३ विकेट लिए । डुम्रे म्यान अफ दि म्याच भए । बुधबार स्याङ्जा र तनहुँ बीच प्रतिस्पर्धा हुने छ ।