क्रिकेटमा उदाउँदै स्याङजा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ५ गते २०७८ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेशले क्रिकेटमा नयाँ च्याम्पियन पाएको छ । क्रिकेटमा कास्कीको बर्चस्वलाई तोड्दै स्याङजाले उमेर समूहको च्याम्पियनसिपको ताज लगाएको छ । च्याम्पियन अब कास्कीबाट स्याङजा झरेको हो । क्रिकेटको पूर्वाधारले व्याप्त कास्कीको क्रिकेट विस्तारै खस्कदै गएको वाई वाई यु–१९ गण्डकी प्रदेश क्रिकेट छनोट प्रतियोगिता नतिजाले प्रष्ट्याएको छ । स्याङजालाई ३ विकेटले पराजित गरेको कास्की च्याम्पियन बन्ने हकदारबाट अन्तत टाढै रह्यो ।

मैदान छ । प्राक्टिसको लागि नेट्स छ । प्रशिक्षक भने छैन् । गण्डकी प्रदेशकै चारै जिल्लामा क्रिकेट प्रशिक्षक छैनन् । नेपाल क्रिकेट संघ क्यानले केही महिना अघि मात्रै प्रदेशको लागि रिजन प्रजुलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । प्रशिक्षक विहीन चारै जिल्ला छनोट प्रतिस्पर्धामा उत्रिएका थिए । तनहुँ, नवलपुर र स्याङजामा कास्कीको जस्तो व्यवस्थित क्रिकेट मैदान छैन् । यद्यपी खेलाडीको प्रदर्शन र नतिजाले भने कास्कीमाथि दबाव सृजना गरिदिएको छ ।

कास्कीसँगै गण्डकी प्रदेशको क्रिकेटको इतिहास लोभलाग्दो र गर्विलो भने छैन् । हिजो पश्चिमाञ्चल क्षेत्रीय हुदाँ भैरहवाको अण्डरमा खेल्नुपर्ने थियो । त्यसपछि क्रिकेटको क्षेत्र बनाईयो । कास्की क्षेत्र ४ रहँदासम्म भैरहवामा पुगेर अन्तिम प्रतिस्पर्धा गर्नुपर्ने थियो । क्षेत्र नं ८ बनेपछि कास्की क्रिकेटमा नयाँ क्षेत्रको रुपमा उदाउने आशा र अपेक्षा थियो । तर नजिताले माथि उठेको देखाउन सकेको छैन् । क्षेत्र नं ८ मा नवलपुर, तनहुँ र स्याङजासँगै कास्की छ । पर्वत र बाग्लुङमा क्रिकेट संघ छैन् । पर्वत र बाग्लुङका खेलाडीहरु कास्कीबाट छनोट खेलेर प्रदेशको प्रतिनिधित्व गर्दै आएका छन् ।

चार जिल्लामा टिम च्याम्पियन बन्ने कास्की यतिबेला कमजोर बन्दै गएको छ । प्रशिक्षण हुनै सकेको छैन् । प्रशिक्षक छैन् । सिनियर खेलाडी अझै व्याट लिएर क्रिजमा उत्रिदैं छन् । कोभिड–१९ले झण्डै डेढवर्ष थलियो । कोभिडकै कारण खेलकुदका कार्यक्रम हुनै सकेनन् । कोभिडकै समयमा मैदान पूर्णरुपमा बन्द जस्तै रह्यो । खेलाडीले नेट्स प्राक्टिस गर्ने अवसर पाएपनि मैदानमा खेल्ने अवसर भने पाएनन् ।

‘नयाँ खेलाडीले राम्रो प्रदर्शन देखाउन सकेनन् । सिनियर प्रतियोगिता अनुभव भएपनि प्रभावकारी प्रदर्शन रहेन् ।’ कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले भने–‘फिल्डिङमा कमजोर देखियो । खेलाडीमा मैदानमा आत्मविश्वास कमि भएको महशुस गर्यौं ।’ उनका अनुसार खेलाडीले आफु भित्रको प्रतिभालाई बाहिर ल्याउनै सकेनन् ।

क्रिकेट टिम गेम हो । टिम गेममा सामान्य कमजोरीले पनि पराजित भईन्छ । पछाडि परिन्छ । कास्कीको हकमा पनि त्यही हो । समग्र प्रदर्शन राम्रै रहेपनि नेटरनरेटमा कास्की स्याङजा भन्दा तल रह्यो । व्यक्तिगत प्रदर्शन राम्रो भएपनि जितको नतिजा आत्मसात गर्न नपाउँदा त्यो प्रदर्शन खल्लो हुन्छ ।

‘रनरेटले कास्की पछि परेको हो । तर व्यक्तिगत खेलाडीको प्रदर्शन राम्रो नै छ ।’ गण्डकी प्रदेश क्रिकेट प्रशिक्षक रिजन प्रजुले भने–‘खेलाडीमा खेलको अनुभवको कमी देखियो । फिल्डिङमा महत्वपूर्ण क्याचहरु छोडे ।’ उनका अनुसार कास्कीमा अधिकांश युवा खेलाडी थिए । यु–१४ र यु–१६ का खेलाडीहरु समावेश थिए । दुई वर्षको अन्तरालपछि अधिकांश नयाँ खेलाडीलाई अवसर दिईएको थियो । अवसर पाएपनि खेलाडीहरुको अनुभवको कमी प्रष्ट देखिएको भन्दै प्रशिक्षक प्रजुले कमजोरीलाई सुधार्दै लैजानुपर्ने बताए ।