तीन नेपाली महिला खेलाडीको सुखद शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १३ गते २०७८ मा प्रकाशित


पोखरा-घरेलु कोर्टमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउँदै तीन नेपाली महिला खेलाडीले सुखद शुरुवात गरेका छन् । पोखरामा सोमबारदेखि शुरु भएको जुनियर ५ आईटिएफ विश्व टेनिस टुर अन्तर्गत नेपालकी शीर्ष बरियताकी अभिलाषा विष्ट, प्रकृति श्रेष्ठ र अध्या पौडेलले जित आत्मसात गर्दै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र विश्व टेनिस महासंघको स्वीकृतिमा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुरु भएको प्रतिस्पर्धामा अभिलाषा विष्टले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरिन् । उनले भारतीय खेलाडी मुन्मेयी जोशीलाई ६–० र ७–५ को सेटमा हराइन् । पहिलो सेट सहजै लिदाँ दोस्रो सेट लिन विष्टलाई निकै सकस परेको थियो ।

प्रकृती श्रेष्ठले बेल्जियमकी मिया क्रिस्टेभालाई ६–२ र ६–४ को सेटमा पन्छाईन् । अध्या पौडेलले भारतकी मेल्रली चुगलाई ६–१ र ६–० ले पराजित गर्दै जितको खुशी मनाईन् । नेपालकी रोमिका बुद्धचार्य र श्रेया भट्टराई भने भारतीय खेलाडीसँग पराजित हुन पुगे । रोमिका विन्शिखा मारिया भिजाभसन्थ भिज्ञसंग र श्रेया हानह नागपालसँग पराजित भएकी हुन् ।

समूहगत स्पर्धामा भने नेपालकी इशाश्री शाह र श्रवणी श्रेष्ठको जोडीले बल्जियमकी मिया क्रिस्टेभिन र नेपालकी सुनिरा थापाको जोडिलाई ६–२ र ६–१ के सेटमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यस्तै भारतकी नियाती कुक्रेति र सोहिनी संजय मोहन्तको जोडी, श्रीतान्भी दसरी र भान्सिका मारिया भिजा तथा अमेरीकाकी समिक्षा एन्एम र रिसितारेड्डि वासिरेड्डीको जोडी क्वाभटरफाइनलमा प्रवेश गरेकी छिन् ।

पुरुष तर्फको खेलमा भने नेपाली खेलाडीले जित हात पार्न सकेनन् । आज पुरुष व्यक्तिगत तर्फका खेलहरु भएका थिए । पुरुषतर्फ सहभागित १० नेपाली खेलाडीले हार व्यहोरेका छन् । प्रतियोगितामा ९ राष्ट्रका ११९ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भइसके प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।

प्रतियोगिताको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ले उदघाटन गर्दै टेनिसको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री गुरुङ ले बालबालिकालाई टेनिस प्रशिक्षण गराउन आवश्यक कोर्ट निर्माण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । टेनिसको लागि प्रशिक्षकको व्यवस्था समेत गर्ने उनको भनाई थियो ।