हाडा र सलोनीको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १४ गते २०७८ मा प्रकाशित


पोखरा-पोखरामा आयोजित आईटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ मा दुई नेपाली खेलाडीले मंगलबार जित आत्मसात गरेका छन् । उमेर समूहमा शीर्ष बरियताका आरभ सम्राट हाडाले भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्दै जित दर्ता गरे ।

कास्की जिल्ला टेनिस संघको आयोजना, नेपाल टेनिस संघको सहयोग र आईटिएफको स्वीकृतिमा पोखरा रंगशाला टेनिस कोर्टमा भएको प्रतिस्पर्धामा हाडाले भारतीय खेलाडी निखिल मित्तललाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरेका थिए । पहिलो सेटमा ३–३ को अवस्थामा हाडाले सर्भिस प्वाइन्ट ब्रेक गर्दै पहिलो सेट आफनो पक्षमा पारेका थिए । सर्भिसमा डबल फउल गरेर अंक गुमाएका हाडाले सम्हालिदैं लयमा फर्किएका थिए । महिला तर्फ नेपालकी उमेर समूहकी दोस्रो बरियताकी सलोनी तामाङले भारतीय खेलाडीलाई पन्छाउन खासै मेहनत भने गर्नुपरेन् । सलोनीले भारतीय खेलाडी रितिशा रेड्डी बसिरेड्डीलाई ६–०, ६–१ को सेटमा पराजित गरिन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी हितेश चौहानले ब्राजिलियन खेलाडी ब्रेनो रोस्सेटो उर्भेन्जालाई कठिन प्रतिस्पर्धामा गर्दै टाइब्रकेर सेटमा जित निकाले । पहिलो सेट ५–७ ले गुमाएका चौहानले दोस्रो सेट भने सम्हालिदैं आफनो पक्षमा पारे । दोस्रो सेट भने ७–६(१)ले आफनो पारेपछि निर्णायक सेटमा धकेलियो । निर्णायक सेटमा चौहानले उर्भेन्जालाई ६–२ को सेटमा पराजित गर्दै अगाडि बढे ।

पुरुष तर्फ नै रसियाका माट्भे ग्रेसनेरले नेपालका सक्षमविक्रम शाहलाई सोझो सेटमा पराजित गरे । सक्षम ६–३, ६–० को सेटमा पराजित हुन पुगे । भारतीय खेलाडी राजबीर प्रधानले नेपालका चिन्मे मिटुल पटेलले ६–३, ६–० को सेटमा पन्छाए । महिला तर्फ भारतीय खेलाडी दिभा भट्टले सौभाङ्गीलक्ष्मी शाहलाई ६–१, ६–० को सेटमा पराजित गरिन् । इशाश्री शाह पनि भारतीय खेलाडीसँगै सोझो सेटमा हार व्यहोर्न पुगिन् ।

सुखमणी भण्डारीले शाहलाई ६–३, ६–० सेटमा पराजित गरेकी थिईन् । भारतीय खेलाडी तनुश्री पाण्डेले नेपालकी अजा रेग्मीको चुनौतिलाई ६–२, ६–२ले पन्छाइन। नेपाली रायना शाह पनि भारतीय खेलाडीसँगको प्रतिस्पर्धामा जित निकाल्न सकिनन् । शाह भारतीय खेलाडी समिनिधि रेड्डी अमिरेड्डीसँग ६–३, ६–३ को सेटमा पराजित भईन् । पुरुष डबल्स तर्फ पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो । डबल्स तर्फ अमेरिका ,भारतीय खेलाडीसँगको प्रतिस्पर्धामा नेपाली खेलाडी सोझो सेटमा पराजित हुन पुगे ।