नेपाली खेलाडी एकलमा पराजित हुदाँ डबल्स तर्फ सुखद नजिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १५ गते २०७८ मा प्रकाशित


पोखरा-नेपालका उमेर समूहका शीर्ष बरियताका आरभ सम्राट हाडा पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिपबाट बुधबार बाहिरिएका छन् । उनी भारतीय खेलाडी हितेश चौहानसँग सोझो सेटमा पराजित हुन पुगे ।

बुधबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित प्रतिस्पर्धामा हाडा चौहानसँग ६–२, ६–३ को सेटमा पराजित भए । बुधबार नेपालकै शीर्ष बरियताकी सलोनी तामाङले भने भारतीय खेलाडीलाई पराजित गर्दै अगाडि बढेकी छन् । सलोनीले भारतीय खेलाडी सोहनी सन्जय मोहन्तीलाई टाईब्रेक सेटमा पराजित गरिन् ।

पहिलो सेट गुमाउँदै दबावमा परेकी सलोनीले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै जित आत्मसात गरिन् ।
पहिलो सेट सलोनीले ३–६ ले गुमाउँदै दबावमा खेल्न पुगिन् । तर दोस्रो सेटमा खेलमा फर्किईन् । दोस्रो सेट उनले ६–४ ले लिदैं आत्मविश्वासी देखिइन् । निर्णायक सेट भने प्रतिस्पर्धात्मक बन्यो । ७–५ले जित निकाल्दै सलोनीले अन्तिम आठमा प्रवेश गरिन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित जुनियर ५ अन्तर्गतको प्रतिस्पर्धामा बुधबार भारतीय खेलाडीको बर्चस्व नै रह्यो । वान्सिका मारिया भायज वसन्त भायजले नेपालकी अभिलाषा विष्टमाथि सोझो सेटमा पराजित गरिन् । विष्टले ६–३, ७–५को सेटमा खेल भारतीय खेलाडीलाई सुम्पिन पुगिन् । महिला तर्फकै प्रतिस्पर्धामा सर्वाणी श्रेष्ठ भारतीय खेलाडीसँग पराजित भईन् । सुखमणि भण्डारीले श्रेष्ठमाथि तीन सेट खेल्दै जित निकालिन् । ६–४, २–६ र अन्तिम सेट ६–१ को नजितामा गुमाउन पुगिन् । भारतीय खेलाडी न्याती कुक्रेतीले बेल्जियमकी सानन बोभीलाई ६–३ ४–६ ६–३को सेटमा पराजित गरिन् ।

पुरुष तर्फको प्रतिस्पर्धामा भारतीय खेलाडी चन्दन शिवराजले अमेरिकाका जय दुत्तलाई ६–४, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए । महिला तर्फ भारतीय खेलाडी हेन्नाह नागपालले नेपाली खेलाडी अद्या पौडेललाई ६–०,६–१ सेटमा पराजित गरेकी थिईन् । अमेरिकाका सिदार्थ लामाले इजरायलका हेयल असुसलाई ६–१, ६–४ को सेटमा पराजित गरे । हंगेरीका लोरेन्ट ग्योरीले भारतीय खेलाडी ओमान्स चौधरी साहारियालाई ६–०, ६–४को सेटमा पराजित गरेका छन् ।

पुरुष डबल्स तर्फ भने नेपाली खेलाडीले जित निकालेका छन् । आर्यन गिरी र आरभस्रमाट हाडाको जोडीले भारतीय खेलाडी हितेश चौहान र चन्दन शिवराजको जोडीलाई ७–६(३) र ६–१ को सेटमा पराजित गरे । त्यस्तै महिला तर्फ पनि नेपालका अभिलाषा विष्ट र सलोनी तामाङको जोडीले भारतीय खेलाडी सुखमणि भण्डारी र हेन्नाह नागपालको जोडीलाई ७–५, ६–४ को सेटमा पराजित गरेका थिए । ईशाश्री शाह र सर्वाणी श्रेष्ठको जोडीले पनि भारतीय खेलाडीको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गरेका थिए ।