सलोनी र लोरेन्ट च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २५ गते २०७८ मा प्रकाशित


पोखरा-नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को दोस्रो सर्किटमा उपाधि जित्दै व्याक टु व्याक च्याम्पियन बनेकी छन् । उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा सर्वाणी श्रेष्ठलाई कठिन सेटमा पराजित गर्दै दोहोरो उपाधि जित्न सफल भईन् । उनले आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत पहिलो सर्किटको उपाधि समेत जितेकी थिईन् ।
सलोनीले सर्वाणीमाथि शनिबार जित निकाल्न तीन सेट खेल्न पुगिन् ।

पहिलो सेट ६–४ले आफनो पक्षमा पार्दै अगाडि बढेकी सलोनी दोस्रो सेटमा पराजित हुदैं दबावमा परिन् । सर्वाणीले दोस्रो सेट जितेपछि दुवैले उपाधि जित्ने सम्भावना बराबरी देखिएको थियो । दोस्रो सेट सलोनीले ४–६ ले गुमाएक थिईन् । अन्तिम निर्णायक सेटमा सलोनीले भने ६–४ले नै जित्दै उपाधि आफनो नाममा लेखाउन सफल भईन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा दुईसातादेखि सञ्चालित प्रतिस्पर्धामा पुरुष तर्फको उपाधि भने स्वीडेनका एमिलियो जेलकोस्कीलाई सोझो सेटमा पराजित गर्दै हंगेरीका लोरेन्ट ग्योरीले जिते । ग्योरीले जेलकोस्कीले ६–३ र ७–५ को सेटमा पन्छाउँदै उपाधि जित्न सफल भएका थिए ।

महिला डबल्स तर्फको प्रतिस्पर्धामा भारतका नियती कुक्रेती र हेनाह नागपालको जोडीले भारतीय खेलाडी रियाह दुगड र तनुश्री पाण्डेको जोडीलाई ६–१, ६–२ को सेटमा पराजित गर्दै उपाधि जिते । पुरुष तर्फको डबल्स प्रतिस्पर्धाको उपाधि पनि भारतीय खेलाडीको नामा लेखियो । भारतीय खेलाडी कबिर चावरिया र दाक्स प्रसादको जोडीले अमेरिकाका मिथ्री बारोट र सिदार्थ लामाको जोडीमाथि ७–६(६), १–६ र १२–१०को सेटमा पराजित गरेका थिए ।

दुईसाता अघि आयोजित च्याम्पियनसिपमा पहिलो सर्किट र दोस्रो सर्किटमा गरी ११ देशका ११९ जना भन्दा बढीले प्रतिस्पर्धा गरेका थिए । अन्तराष्ट्रियस्तरको यो प्रतिस्पर्धाले खेल पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको विश्वास कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले सुनाए । उनले दुई वर्षअघि आयोजित आईटिएफ विश्व टेनिस टुरमा २२ देशका खेलाडीहरुको सहभागिता रहेको बताए । आईटिएफको क्यालेण्डेर अनुसार जुनियर प्रतियोगितालाई पोखरामा ल्याउन सकिए खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।