गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन अवलोकन शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २६ गते २०७८ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले मिति सार्वजनिक गरिसकेको छैन् । २०७७ फागुन २० देखि २७ मा आयोजना गर्ने तय भएपनि कोभिड–१९ ले पर धकेलिएको हो । कोभिडकै कारण पर धकेलिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको परिषदले मिति घोषणा गरिसकेको छैन् ।

मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ । गण्डकी खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङको संयोजकत्वमा गठित अनुगमन तथा पूर्वाधार समितिले पोखराका विभिन्न ठाँउमा भएका पूर्वाधारको बस्तुस्थितिको अध्ययन शुरु गरेको छ । पहिलो चरणमा समितिले लेखनाथस्थित भण्डारढीक खेलमैदान, लामाचौरस्थित गोस्ते खेलमैदान र हेमजास्थित गौरीशंकर खेल मैदानको अध्ययन गरिएको उनले बताए । ती पूर्वाधारमा केहीमा चेन्जिङ रुमसहित कामहरु बाँकी रहेको समेत उनले जानकारी दिए ।

‘प्रदेशका ११ वटै जिल्लाको पूर्वाधारको अध्ययन गर्ने छौं’ संयोजक गुरुङले भने–‘अन्य जिल्लामा कुन कुन पूर्वाधार छन् । के कस्तो अवस्थामा छन् । त्यसको अध्ययन गरेर अगाडि बढ्छौं ।’ गण्डकी प्रदेशका ११ वटै जिल्लामा नवौं राष्गिण्डकी प्रदेशका ११ वटै जिल्लामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ३५ खेल खेलाईने छ । अधिकांश खेल पोखरा रंगशाला र आसपासका खेलमैदानमा आयोजना हुदाँ प्रदेशका अन्य जिल्लालाई समेत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर प्रदान गरिने छ । यद्यपी कुन–कुन खेल जिल्लालाई दिने भन्ने विषयमा भने ठोस निर्णय गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले गरेको छैन् । राष्ट्रिय खेलकुद परिषदले भने केही महिना अघि मात्रै जिल्लामा खेलाउने खेल समेत प्रस्ताव गरिएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला छनोट हुदैं प्रदेश छनोट गरेर मात्रै राष्ट्रिय प्रतिस्पर्धामा खेलाडीलाई उतारिन्छ । अहिले कोरोनाकै कारण जिल्ला छनोट प्रतिस्पर्धा शुरु हुन सकेको छैन् । जिल्ला छनोट भएपछि प्रदेश छनोटको लागि समय चाहिन्छ । प्रदेश छनोटपछि मात्रै खेलाडीहरु बन्द प्रशिक्षणमा रहेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुटिङ रेन्ज तथा स्वीमिङ पुल बनाउनुपर्ने खाँचो छ । सुटिङ र स्वीमिङको लागि राष्ट्रिय खेलकुद परिषदले बजेट छुट्टाएको छ । बजेट छुट्टाएपनि टेण्डर आह्वान नहुदाँ काम अगाडि बढ्न सकेको छैन् । स्वीमिङपुल र सुटिङ रेन्ज बनाउनुपर्ने अत्यावश्यक देखिएपनि परिषदले त्यस सम्बन्धी गम्भीर नदेखिएको आरोप खेलकुदबृत्तमा छ । ‘जिल्लाहरुमा पूर्वाधारको अध्ययन नगरी कुन कुन खेल खेलाउने भन्ने विषयमा तत्कालै निर्णय गर्न सकिदैन् । निर्णय गर्न गाह्रो छ ।’ संयोजक गुरुङको भनाई थियो ।

पोखरामा हक्कीकै लागि ठोस मैदान छैन् । भएका फुटबल मैदानमै हक्की खेलाउनुपर्ने बाध्यता छ । त्यसको लागि समेत तयारी गर्नुपर्ने खाँचो छ । अध्ययन तथा अनुगमन समितिमा गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद शाखा प्रमुख प्रकाश ओझा, मन्त्रालयबाटै शंकर बराल, गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, ईन्जिनियर सागर गौतम तथा परिषद सचिवालयबाट माया गुरुङ सदस्य रहेका छन् । आईतबार पश्चिञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रमुख लक्ष्मणप्रसाद योगी, खेलकुदका इन्जिनियर अनिल अधिकारी तथा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ लगायतको टोली समेत अनुगमनमा सहभागि थिए ।