
पोखरा-एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप विजेता नेपाली भलिबल टोलीका चार सदस्यलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले दोसल्ला ओढाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयमा सोमबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा नेपाली महिला भलिबल टोलीका कप्तानसहित गण्डकी प्रदेशका चार खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । महिला भलिबलकी कप्तान अरुण शाही कप्तान(म्याग्दी), उषा भण्डारी(तनहुँं), सोफिया पुन(बाग्लुङ) र शान्तिकुमारी थारु(नवलपुर)लाई सम्मान गरिएको हो । खेलाडीहरुलाई नगदसहित सम्मान गरिदाँ नेपाल भलिबल संघका कार्यबहाक जिम्मेवारी सम्हाल्दै बंगलादेश पुगेका टोली नेता यामबहादुर गुरुङलाई दोसल्ला ओढाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्ले, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ तथा खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले दोसल्ला ओढाई नगदसहित सम्मान गरेका हुन् । खेलाडीहरुलाई नगद ५०/५० हजार रुपैयाँ प्रदान गरिएको थियो । सम्मानपछि बोल्दै युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेलाडी संरक्षणको लागि मन्त्रालय मार्फत स्वरोजगार कार्यक्रम अघि सारिएको बताए ।
खेल जीवनपछि खेलाडीको आयआर्जनको लागि मन्त्रालयले प्रदेश सरकारसँग माग गरेको थप बजेटबाट खेलाडी तथा खेलकुद पृष्ठभूमि भएकालाई स्वरोजगार कार्यक्रममार्फट आर्थिक सहयोग प्रदान गर्ने स्पष्ट पारे । ‘दुई महिना भईसक्यो बजेट मागेको । साढे दुई करोडको बजेटबाट खेलाडीलाई स्वरोजगार कार्यक्रम मार्फत सहयोग प्रदान गर्ने छौं ।’ मन्त्री गुरुङले भने ।
उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको प्रदेशलाई संघीय मन्त्रालयबाट बजेट नै नदिदाँ राष्ट्रिय खेलकुद प्रतियोगिता अपेक्षाकृत हुने नसकेको दावी गरे । मन्त्री गुरुङले ११ जिल्लालाई ५० लाख रुपैयाँ मैदान स्तरोन्नति गरे भनेर पैसा पठाएको भन्दै ५० लाख रुपैयाँले कुन जिल्लाको खेलमैदान स्तरोन्नति गर्ने भन्दै प्रश्न गरे । उनले बजेटकै अभावमा तीन महिनामा तीन सचिव फेरिएको समेत सम्मान समारोहमै बताए । मन्त्रालयसँग बजेटै नहुदाँ आवश्यता अनुसार खेलकुद प्रतियोगिता सञ्चालन गर्न नसकिएको प्रष्ट पारे ।
सम्मान ग्रहणपछि नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीले नियमित प्रतियोगिताले खेलाडी उत्पादन भएपनि दीर्घकालिन रुपमा खेलाडीलाई संरक्षण गर्ने तर्फ स्थानीय तह, प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिईन् । ‘खेलाडी उत्पादन हुन्छन् । तर खेलाडीलाई संरक्षण गर्न सकिएको छैन्’ उनले भनिन–‘कुनै बेला नेपालको महिला भलिबलको टिम पश्चिमाञ्चलले धानेको थियो । तर अहिले खेलाडी नै छैन् । सबै खेलाडी पलायन भईसके ।’ उनका अनुसार धेरैजसो खेलाडीहरु विभागिय टोलीमा आवद्ध भएको उल्लेख गर्दै रिटायर्डमेन्टपछि खेलाडीको भविष्य सुनिश्चित गर्ने तर्फ ध्यान दिनुपर्छ । खेलाडी सम्मानले खेलाडीको हौसला थपिने बताउँदै खेलाडी हौसलासँगै संरक्षण हुन्छन भन्ने अपेक्षा रहेको उनको भनाई थियो ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…