मर्दी हिमालमा साहसिक खेल स्की प्रवद्र्धन गर्न ‘समर स्की’ महोत्सव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १९ गते २०७८ मा प्रकाशित


पोखरा-मर्दी हिमालमा साहसिक खेल स्कीको प्रवद्र्धन गर्न समर स्की महोत्सव गरिने भएको छ । साहसिक खेलसँगै साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एकसाता ‘समर स्की’महोत्सव गरिने दिगो हिमालयन कोष नामक संस्थाले जनाएको छ । आगामी माघ २७ गतेदेखि फागुन ३ गतेसम्म स्की महोत्सव गरिने छ । नेपालमा स्की पर्यटनको विकास गर्ने उद्देश्यले महोत्सवको तयारी गरिएको हो । महोत्सवलाई ‘ग्रेट हिमालयन स्की भ्रमण’ नाम दिइएको छ ।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका सचिव सुदीप गौतमका अनुसार सबै सिजनका लागि पर्यटन भन्ने अभिप्रायले स्की महोत्सवको आयोजना गरिएको हो । ‘विन्टर पर्यटन प्रवद्र्धन योजना हो । स्की महोत्सवले साहसिक पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास छ ।’ गौतमले भने–‘खास गरी पदयात्रा र पर्वतारोहणमा आवद्ध गाईडहरुलाई महोत्सवमा सहभागि गराइने छ।’ संस्थाले मर्दी हिमालमा स्की गर्ने बारेमा भौगोलिक अध्ययन समेत गरेर फर्किएको थियो । पूर्व अध्ययनपछि नै संस्थाले मर्दीमा स्की महोत्सव गर्ने निर्णय गरेको उनको भनाई थियो । ‘मर्दीमा आयोजना गरिएको स्की महोत्सव पहिलो पटक हो ।’ उनको भनाई थियो ।

मर्दीकै स्थानीय गाईडहरुलाई विशेष प्राथमिकता राखिएको छ । पथप्रदर्शक, हिमाल आरोहण गाईड तथा पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको सहभागितामा जोड दिएको छ । महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ सय मानिहरु लाभान्वित हुने विश्वास गरिएको छ । महोत्सवले नेपालको आन्तरिक पर्यटनको प्रवद्र्धन हुने, नेपालको पर्यटनमा नयाँ क्रियाकलाप थपिने, स्की सम्बन्धि सीप हस्तान्तरण हुने, नेपालको पर्यटन सबै मौसमका लागि भन्ने नारा स्थापित हुने स्थानीय व्यवस्थापक गौतमले विश्वास व्यक्त गरे । उनका अनुसार मर्दीको ४ हजार मिटर उचाईबाट झण्डै २÷३ सय मिटर तल ओरालिने छ । पूर्वतर्फ घाम छिटो पर्ने भएकोल हिँउ पग्लिने हुदाँ पश्चिमी भागमा स्की महोत्सव गरिने उनले बताए ।