गण्डकी प्रदेश तेक्वान्दो संघमा जगन गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

- खेलकुदमा सरकारको दृष्टिकोण पर्नुपर्छ–गण्डकी प्रदेश प्रमुख

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७८ मा प्रकाशित


पोखरा-गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्र्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नुपर्नेमा जोड दिए ।

‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिनेकाम राज्यले दिनुपर्छ ।’ आईतबार संघको अधिवेशनमा बोल्दै प्रदेश प्रमुख गुरुङले भने–‘खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवद्र्धन हुन सक्छ ।’ सरकार चलाउने दलका नेताहरु सरकार चलाउन मात्रै केन्द्रीत भएको हुदाँ खेलकुदमा दृष्टिकोण नपुगेको उनको भनाई थियो । पछिल्लो समय कर्पोरेट समूहले खेलकुद क्षेत्रमा टेवा दिएको उनले बताए । ‘कर्पोरेटको व्यवसायिक प्रवद्र्धन भएको छ ।’ उनले भने–‘कर्पोरेट समूहको लगानीले खेलकुदमा टेवा पुगेको छ ।’

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गरे । हिजो फुटबल मात्रै खेलकुद भन्ने भान भएपनि अहिले खेलकुद व्यापक भएको उनले सुनाए । ‘अन्तराष्ट्रिय क्षेत्रमा स्पोर्टसम्यानसिप देखाउन सक्यो भने आर्थिक रुपमा बलियो बन्छ’, उनले भने–‘खेलकुद व्यापक भएको छ । जीवन धान्ने चलाउने माध्यम बनेको छ । नेपालमा अझै सम्भव देखिदैन् ।’

मार्सल आर्टसका खेल अन्तराष्ट्रिय क्षेत्रमा नेपालको फण्डा फहराउने खेल बन्दै आएको छ । जुडो, कराँते र तेक्वान्दो खेल अन्तराष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त छ । ‘यी खेल राज्यको सुरक्षाको मूलभुत आधार थियो’ प्रदेश प्रमुख गुरुङले भने–‘हिजो राज्य विस्तारमा विना हतियार आत्मरक्षा कसरी गर्ने भने आधार थियो । अहिले पदक जितेर अन्तराष्ट्रिय ख्याति कमाउने आधार भएका छन् ।’ स्रोत र साधनले भ्याएसम्म खेलकुदको विकासमा जोडदिनुपर्ने उनको भनाई थियो ।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । तदर्थ समितिको रुपमा काम गरिरहेको संघले अधिवेशनबाट कार्यसमिति बनाएको हो । संघको उपाध्यक्षमा विष्णुहरि गौतम र कमल पराजुली रहेका छन् । महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माईकल कर्माचार्य र सचिवमा गंगाबहादुर गुरुङ रहेका छन् । सदस्यहरुमा कुलबहादुर तामाङ(दोर्जे) ,विकल्प बोगटी, राजु थापा, योगराज अधिकारी, लक्ष्मी पाण्डे, शिवराज वाग्ले, नरेश भट्टराई, सर्फुदिन मियाँ छन् । दुई सदस्य पछि थप गरिने संघले जनाएको छ ।

नेपाल तेक्वान्दो संघको सहयोगमा गण्डकी प्रदेश तेक्वान्दो संघले पोखरामै ‘माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो’ आयोजना गर्ने तयारी गरेको छ । पोखरामै कास्की जिल्ला तेक्वान्दो संघले अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिसकिएको छ । माउण्ट एभरेष्ट अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताको लागि विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले मान्यता दिईसकेको नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले बताए । उनले तेक्वान्दो संघले सैलुङमा हाईअल्टिच्युड सेन्टर र लुम्बिनीमा अन्तराष्ट्रिय तेक्वान्दो मेडिटेसन सेन्टर निर्माण गर्ने योजना रहेको सुनाए । अन्तराष्ट्रिय तेक्वान्दो मेडिटेसन सेन्टर निर्माण गर्न जग्गा प्राप्त भइसकेको समेत उनले जानकारी दिए ।

अधिवेशमा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद शिक्षा स्वास्थ्यसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय, शान्ति, आर्थिक, बातावरण एवं सामाजिक क्षेत्रसँग समेत जोडिएको बताए । खेलकुदले सामाजिक विभेदलाई समेत अन्त्य गरेको दावी गर्दै उनले समाज रुपान्तरणमा खेलकुदको भूमिका अहम भएको उल्लेख गरे । खेलकुदको विकासको लागि प्रदेश सरकारले ०.८ प्रतिशत मात्रै बजेट दिएको बताउँदै खेलकुदको पूर्वाधारसहित विकास गर्न ५ प्रतिशत बजेट छुट्टाउनुपर्ने बताए । अधिवेशनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणा, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, लगायतले खेलकुदको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।