हेल्प नेपाल र त्रिभुवन आर्मी उपाधिको लागि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७८ मा प्रकाशित


पोखरा-हेल्प नेपालले गण्डकी प्रदेशलाई र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको टाईगर कपको उपाधि फाईनल प्रवेश गरेका छन् । हेल्प नेपाल १० अंकसहित फाईनल प्रवेश गर्दा त्रिभुवन आर्मी ९ अंकसहित उपाधि निकट पुगेको हो । हेल्प नेपालले शनिबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्ने छ । राउण्ड रोविन लिगमा हेल्प नेपालले त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गरेको थियो ।

शुक्रबारसम्म आईपुग्दा हेल्प नेपाल, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबलाई फाईनल प्रवेशको अवसर थियो । राउण्ड रोविन लिग निकै रोमाञ्चक बन्दा अन्तिम खेलले मात्रै फाईनल प्रवेशको ढोका खोल्ने थियो । शुक्रबार भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले गण्डकी प्रदेशलाई २५–१८, २५–१५ र २५–२३ को सोझो सेटमा पन्छाउँदै फाईनल प्रवेश गर्यो । डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेश दोस्रो संस्कराण्मा चौथो स्थानमा रहँदा शसस्त्र प्रहरी बल भने जितविहनी पाँचौ स्थानमा खुम्चियो ।

उता विभागीय डर्बी प्रतिस्पर्धामा निकै रोचक हुने अपेक्षा गरिएको थियो । जितले फाईनल प्रवेश गराउँदा हारले तेस्रो स्थानमा झर्ने अवस्था थियो । खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पन्छायो । २५–१५, २५–१८ र २५–१३ को स्थितिमा पराजित गर्दै आर्मी फाईनल प्रवेश गर्दा नेपाल पुलिस क्लब तेस्रो स्थानमा खुम्चियो । हेल्प नेपाल स्पोर्टस क्लबलाई पाँच सेट खेल्दै पराजित गरेको नेपाल पुलिस क्लब आर्मीसँग सोझो सेटमा नतमष्तक बन्न पुग्यो ।