पिसिसी शीर्षस्थानमा, अरण्यज्योति ८ विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १७ गते २०७८ मा प्रकाशित


राईजिङ पोखरा क्रिकेट क्लबका कप्तान अमृत गुरुङ प्लेयर अफ दि म्याच घोषित ।

पोखरा-कप्तान अमृत गुरुङको अर्धशतकीय पारी र तिब्रगतिका बलर कृष्ण पौडेलको ४–१–१३–३ को बलिङ स्पेश रहेपछि राईजिङ क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबलाई ९ रनले पराजित गरेको छ । टी–२० कास्की जिल्लास्तरीय क्लब च्याम्पियनसीप अन्तर्गत मंगलबार मंगलबार टस जितेर व्याटिङमा उत्रिएको राईजिङले कप्तान अमृत गुरुङले ५२ रनको अर्धशतकीय कप्तानी पारी खेले । राईजिङले ८ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पार्दै सांग्रिलालाई लक्ष्य पछ्याउने चुनौति दियो । तीन विकेट सस्तैमा गुमाएपछि धर्मराएको राईजिङलाई उकास्ने काम भने कप्तान गुरुङले गरे । पाँचौ नम्बरमा आएको कप्तान गुरुङले चौथो विकेटको लागि नविन पोखरेलसँग ६० रनको साझेदारी गरे ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालित च्याम्पियनसिपमा कप्तान गुरुङले ५२ रन हिर्काउन ३१ बलको सामना गरे । उनले ४ चौका र २ छक्का हिर्काए । नविन पोखरेल र सागर लामिछानेले पनि १३÷१३ रनको योगदान रह्यो । बलिङ तर्फ सांग्रिलाका कप्तान विपिन खत्रीले ४ ओभरमा ११ रन दिएर २ विकेट लिए । ११७ रनको लक्ष्य पछ्याएको सांग्रिला २० ओभरमा ९ विकेट गुमाउँदै १०७ रनमा समेटियो । मध्यक्रम व्याटर सुदिप पौडेलले २ चौका र १ छक्का हिर्काउँदै ३१ रन जोडे । विपिन खत्रीले १८ रन बनाए । तिब्र गतिका बलर कृष्ण पौडेलले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चिएर ३ विकेट लिएपछि सांग्रिला धरासायी बन्यो । अमृत गुरुङको नाममा एक विकेट लिए । उनी प्लयेर अफ दि म्याच घोषित भए ।

मंगलबारको खेलमा पनि सांग्रिलाका कप्तान विपिन खत्रीले स्ट्राई लिने धुनमा अर्का सहकर्मीलाई रनआउटको शिकार बनाए । उनले अघिल्लो खेलमा पनि आफनै सहकर्मीलाई रन आउटको शिकार बनाएपछि सांग्रिला पराजित हुन पुगेको थियो । यसैगरी दोस्रो खेलमा पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । अरण्यज्योति क्रिकेट क्लबले पहिले व्याटिङ गर्दैै १९.४ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनाएको थियो । कप्तान विधान श्रेष्ठले ३७ बलमा १ चौका र १ छक्काको मद्दतमा ३१ रन जोडे । प्रवीन पौडेलले पनि २७ रन बनाउने क्रममा ४५ बल खेले । उनको ३ चौका स्कोरकार्ड लेखियो । पोखरा क्रिकेट क्लबका अनिष खड्काले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिदैं अरण्यज्योतिलाई धरासायी बनाए । अनिल गुरुङले ३.४ ओभरमा १ मेडन राख्दै ५ रन दिए २ विकेट लिए ।

८२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट क्लबले अनिल गुरुङले ५१ रन बनाउँदै अविजित खेलेपछि अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले पराजित गरेको हो । प्लेयर अफ दि म्याच अनिलले २७ बलमा ६ चौका र २ छक्का हिर्काए । प्रमोद बास्तोलाले १ चौका सहित १४ रन हिर्काए । मुस्कान थापा ११ रन जोडे । विधान श्रेष्ठ र दिवस गिरीले समान १÷१ विकेट लिए । पोखरा क्रिकेट क्लब र राईजिङ क्रिकेट क्लब दोहोरो जितसँगै समान ४ अंक जोडेका छन् । यद्यपी नेटरनेटमा पोखरा क्रिकेट क्लब लिगको शीर्षस्थानमा छ ।