संघले शुरु गर्यो कास्कीमा क्रिकेट एकेडेमी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ ३ गते २०७९ मा प्रकाशित


पोखरा-कास्की जिल्ला क्रिकेट संघले सेन्ट्रल क्रिकेट एकेडेमीको अवधारणासँगै क्रिकेट एकेडेमी शुरु गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि लक्षित गर्दै खेलाडीको नामावली मागिरहेको अवस्थामा संघले कास्कीको क्रिकेटमा नयाँ आयाम थप्ने गरी एकेडेमी शुरु गरेको हो । कास्कीको सिनियर टोली नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा रहदाँ जुनियरलाई लिएर एकेडेमी शुरु गरिएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले सुनाए । य्द्यपी सिनियर खेलाडी पनि नियमित प्रशिक्षणमा रहेको उनको भनाई थियो । एकेडेमीमा विद्यालयस्तरका छात्रा तथा छात्रहरु छन् । पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण गराउँदै आएको छ ।

क्रिकेट एकेडेमी सञ्चालनको लागि लामो समय प्रतिक्षा गरिएको थियो । अघिल्लो कार्यसमितिले पनि एकेडेमी थालनी गर्ने योजना बनाएपनि सम्भव भएको थियो । तर नयाँ कार्यसमिति एकेडेमीलाई मुर्त रुप दिएको हो । एकेडेमीमा विभिन्न जिल्लाका खेलाडीहरुले प्रशिक्षण लिईरहेका छन् । प्रशिक्षकको रुपमा गोविन्द प्रधानले संयोजन गरेका छन् । उनले नियमित रुपमा प्रशिक्षण दिदैं आएको समेत कोषाध्यक्ष पुनले बताए ।

कोषाध्यक्ष पुनका अनुसार संघले क्लबस्तरीय शनिबारीय लिग तथा दुईदिनको एकदिवसीय सीरिज खेलाउँदै खेलाडीहरु समेत छनोट गरिएको छ । छनोट भएका खेलाडीहरुलाई निखार्दै कास्कीको टिम तयार पार्ने योजना समेत रहेको जानकारी गराए । ‘हामी टि–१० को योजनामा छौं ।’ उनले भने–‘टि–१०ले खेलाडीहरुलाई हिटिङ पावर बढाउन सहयोग पुग्ने विश्वास छ ।’ संघले एकेडेमीमा प्रशिक्षणमा रहेका खेलाडीहरुलाई कास्कीको टिममा परेको अवस्थामा चार वर्ष फुकुवा नदिने समेत उल्लेख गरेको छ । प्रशिक्षण दिएर मेहनत गराइएको खेलाडी एकवर्ष वित्न नपाउँदै अर्कोबाट खेल्न जाने प्रवृत्ति बढ्दै गएकोले पनि त्यस्तो प्रवृत्ति रोक्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

कास्कीको क्रिकेट निकै कमजोर बन्दै गएको छ । पछिल्लो समय कास्की गण्डकी प्रदेशमै कमजोर देखिएको छ । नवलपुरमा आयोजित जिल्लास्तरीय क्रिकेटमा कास्की पराजित हुन पुगेको थियो । प्रदेशस्तरीय छनोट प्रतियोगितामा समेत कास्की स्याङजासँग पराजित भएको थियो । कमजोर बन्दै गएको क्रिकेटको जग बलियो बनाउने ध्येयसहित एकेडेमी शुरु गरिएको हो । एकेडेमीमा सिनियर तथा जुनियर खेलाडीहरु प्रशिक्षणरत छन् ।