
पोखरा-मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम कोअस अन्तराष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चर कम्पिटिसन २०२२ को उपाधि पुरुष तर्फ आर्मीकै ए टिमले जित्दा महिला तर्फ भने हिमालयन गल्फले जितेको छ ।
क्लाईम्बिङ–दौड–साईक्लिङ प्रतिस्पर्धामा चारदेश नेपाल, भारत, बंगलादेश, बेलायतको सहभागिता रहेको थियो । शनिबार आयोजित प्रतिस्पर्धामा आर्मीको ए टिमका हिमाल टमटा र मानबहादुर थापाको जोडीले उपाधि जितेको छ । टमटा र थापाको जोडीले १ घण्टा १५ मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै बी टोलीका बसन्त थारु र नवरान न्यौपानेले १ घण्टा १७ मिनेटमा पुरा गर्दै दोस्रो पुरस्कार थाप्यो । आर्मीकै सी टोलीका कमल ओली र प्रेमसिंह अर्यालले भने १ घण्टा २१ मिनेटको समयमा पुरा गर्दै तेस्रो स्थान आउन सफल भए । हिमाल टमटा गत चैतको दोस्रो साता पोखरामा आयोजित दुवाथोलनमा स्वर्णपदक जितेका समेत हुन् । पोखरामै आयोजित साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय प्रतिस्पर्धा थारुले १ घन्टा ३ मिनेट २ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक जितेका थिए ।

महिला तर्फको प्रतिस्पर्धामा हिमालयन गल्फ का भूमी बुढामगर र ईन्द्रकला नेम्वाङको जोडीले जिते ।उनीहरुले १ घण्टा ४३ मिनेटको समय लगाए । दोस्रो स्थानमा रहेका नेपाली सेनाको ए टोलीका उषा खनाल तथा मन्जुकुमारी खड्काको जोडीले १ घण्टा ५० मिनेटको समयमा पुरा गरेका थिए । तेस्रो सथनमा आर्मीकै ईश्वरी थापामगर र सुधा राईको जोडीले प्राप्त गरे । उनीहरुले भने २ घण्टा १८ मिनेटको समय लगाउँदै दुरी तय गरेका थिउ । महिला तर्फको विजेताले तीनलाख, दुई लाख र एकलाख नगद पुरस्कार प्राप्त गर्दा पुरुष तर्फ भने विजेताले ३ हजार डलर, दोस्रो हुनेले २ हजार डलर र तेस्रो हुनेले १ हजार डलर पुरस्कार प्राप्त गरेका छन् ।
दुई संस्करण राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो । तेस्रो संस्करणमा आईपुग्दा नेपाली सेनाले अन्तराष्ट्रियस्तरको बनाएको छ । नेपाली सेनाको जोमसोमस्थित क्लाइम्बिङ वाल(पहाड)मा प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा १ सय मिटर क्लाईम्बिङ, ४.७५ किलोमिटर दौड र १५.३५ किलोमिटर साईक्लिङ समावेश गरिएको थियो ।
नेपाली सैनिक प्राविधिक तालिम तथा खेलकुद शाखा जोमसोमको समन्वयमा आयोजित प्रतिस्पर्धामा बेलायतबाट ४ जना, भारतबाट २ जना, बंगलादेशबाट २ र नेपालबाट ३६ जनाको सहभागिता रहेको थियो । पहाडमा क्लाईम्बिङ गरेर पाण्डासम्म दौडेका थिए । पाण्डा खोलाबाट साईक्लिङ गरेर ढिनी, ढुम्बा लेक, स्याङ हुदैं जोमसोमस्थित आर्मी क्याम्प(ब्यारेक)मा पुगेर टुंगिएको थियो ।