खेलाडीको काँधमा गाँउपालिकाको अभिभारा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १० गते २०७९ मा प्रकाशित


पोखरा-उनी आफैंमा खेलाडी हुन् । क्योकुशिन कराँतेका खेलाडी । खेलाडीसँगै राजनीतिक जीवनमा प्रवेश गरेका तोरण मल्ल ठकुरी(राज)ले पर्वतको पैंयु गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित भएसँगै उनको काँधमा पाँचवर्ष गाँउको विकास गर्नुपर्ने दायित्व र जिम्मेवारी छ । उनले जिम्मेवारी लिएसँगै चारवटा निर्णय गरेका छन् ।

बृद्धा भत्ता लिन लाईन बसेरै कुर्नुपर्ने बाध्यता हटाउने पहिलो निर्णय गरे । ‘बृद्धा भत्ता(सामाजिक सुरक्षा भत्ता) वडा बाटै मार्फत दिने व्यवस्था मिलाउने निर्णय गरेको छु ।’ पर्वतको पैंयु गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठुकरी(राज)ले पदभार ग्रहण गर्दै निर्णय सुनाए । उनका अनुसार बृद्धा भत्ता लिनेको उत्तिकै भीड । लाईन बस्दा उस्तै समस्या । बुढाबुढी उमेरकाले भत्ता लिन एक दिनै विताउनुपर्ने परिस्थिति हटाउनुपर्ने सोचसँगै पहिलो निर्णय गरेको उनले बताए ।

उनले आफु चुनावी प्रचारमा देखेको बृद्धबृद्धाको दुख पीडालाई बुझ्नुपर्ने भन्दै सामाजिक सुरक्षा भत्ता वडाबाटै दिने व्यवस्था मिलाउने उदघोष गरेका थिए । त्यही उदघोषलाई अध्यक्षको कुर्चीमा बसेपछि निर्णय गरेको उनले बताए । गाँउपालिकामा ७ वटा वडा छन् । वडाबाटै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने निर्णयले बृद्धबृद्धालाई सहज हुने विश्वास उनको थियो । ‘भत्ता लिन पाँचदेखि ७ किलोमिटर हिड्नुपर्ने अवस्था थियो । अब गाँउकै प्रत्येक वडाबाटै भत्ता वितरण गर्ने व्यवस्था मिलाउँछु ।’ उनले भने–‘त्यसको लागि सम्बन्धित बैंकसँग सहकार्य गरिएको छ ।’ उनले वडास्तरमा वितरण गर्न सम्बन्धित बैंकसँग सहकार्य गरेर घुम्ती बैंकिङ सेवा मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने उल्लेख गरे ।

निर्वाचित गाँउपालिका अध्यक्ष मल्लले अर्धवार्षिक रुपमा आफना गाँउपालिकाका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने बताउँदै विशेषज्ञ सेवासहितको घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने बताए । ‘स्वास्थ्य शिविर हुदैं आएको छ । तर अब विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर चलाउने निर्णय गरेका छौं ।’ उनको भनाई थियो । उनी आफैं पनि खेलाडी भएकोले स्वास्थ्यप्रति गम्भीर र सम्वेदनशिल छन् ।
अध्यक्ष मल्लले फरक क्षमता भएका व्यक्तिहरुलाई आयआर्जनको लागि विभिन्न सीप मुलक तालिम दिने निर्णय समेत गरेका छन् ।

सीप मुलकसँगै क्षमता विकास कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर बनाउने लक्ष्य लिईएको समेत सुनाए । गाँउपालिकाबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने सेवाग्राही मैत्री बनाउन नागरिक सहायता कक्ष सञ्चालन गरिने बताए । सरकारी कार्यालय सेवाग्राही मैत्री नहुदाँ सर्वसाधारणले दुख र झन्झट व्यहोर्दै आएकाको गुनासो छ । गुनासोलाई न्युनिकरण गर्ने अध्यक्ष मल्लले सेवाग्राही मैत्री बनाउने लक्ष्य लिएका छन् ।