निरज तामाङ दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १० गते २०७९ मा प्रकाशित


काठमाडौं-करियरकै उत्कृष्ट आठ-अन्डर ६४ को सानदार स्कोरमा निरज तामाङ सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन्।

समग्रमा १२-अन्डर १ सय ३२ सहित १३औं दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्ण विजेता निरजले पहिलो दिनका एमेच्योर लिडर वाङ्गचेन ढोन्डुप र शुक्र बहादुर राईलाई दुई स्ट्रोकले पछि पारे। समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर बनाएका शुक्र र वाङ्गचेन संयुक्त रूपमा दोस्रो स्थानमा छन्। नम्बर एक प्रो बन्ने दाउमा रहेका शुक्रले सात-अन्डर ६५ स्कोर गरे।

पहिलो दिनका लिडर वाङ्गचेनले तीन-अन्डर ६९ को स्कोर कार्ड तयार पारे। युवा एमेच्योर गल्फर सद्भाव आचार्य करियरकै उत्कृष्ट ६-अन्डर ६६ सहित समग्रमा नौ-अन्डर १ सय ३५ को नतिजाम चौथो स्थानमा उक्लिएका छन्। नेपाल नम्बर एक भुवन नगरकोटी दोस्रो दिन पनि चार-अन्डर ६८ सहित समग्रमा आठ-अन्डर १ सय ३६ को स्कोरमा पाँचौ स्थानमा रहेका छन्। पुर्ण प्रसाद शर्मा समग्रमा छ-अन्डर १ सय ३८ सहित छैठौं स्थानमा छन्। उनले पाँच- अन्डर ६७ को स्कोर गरे। चार-अन्डर ६८ को स्कोर निकालेका भुवन कुमार रोक्का समग्रमा ५-अनमडर १ सय ३९ सहित सातौ स्थानमा छन्।

धनबहादुर थापा र एमेच्योर आरब डी शाह ४-अन्डर १ सय ४० को स्कोरमा संयुक्तरुपमा आठौ स्थान बाँडे। समग्रमा तीन-अन्डर १ सय ४१ को नतिजामा रामे मगर र एमेच्योर महेन्द्र फगामी संयुक्तरुपमा दशौ स्थानमा रहदै ३६ होलको खेल सकाएका छन्। निरजले करियरकै उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट र ब्याक नाइन दुवै चार-अन्डर ३२ मा सकाए। दोस्रो, तेस्रो,पाँचौ र छैठौं होलमा एक-एक सट बचाए। ब्याक नाइनमा पनि यो लयलाई निरन्तरता दिए। १२ औ र १५ औ होलमा बर्डी प्रहार गर्दा चार पारको चौधौ होलमा इगलको सफलता ‌प्राप्त गरे।

योसँगै उनी शीर्षस्थानमा उक्लिए। यो सिजन टुरको तीन प्रतियोगिता नखेलेपनि नम्बर एक गल्फरको दौडमा रहेका शुक्रले पहिलो, तेस्रो, चौथो, छैठौं, सातौ र आठौं होलको बर्डीले फ्रन्ट नाइन छ-अन्डर ३० मा पुरा गरे। ११ औ होलम एक सट खेर फाल्दा १३ औ र १४ औ होलमा एक-एक सट बचाए।‌ शुक्रसँगै दोस्रो स्थान बाडेका पहिलो दिनका लिडर वाङ्गचेनले दुई-अन्डर ३४ मा फ्रन्ट नाइन सकाए। पहिलो, तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे भने चौथो होलमा बोगी खेपे।‌

यसपछि ११औ र १२ औ होलमा एक-एक सट बचाउँदा १३ औ होलमा एक सट खेर फाले। १५ वर्षिय युवा गल्फर सद्भाव आचार्यले करियरकै उत्कृष्ट नतिजा निकाल्ने क्रममा फ्रन्ट नाइन तीन-अन्डर ३३ मा सकाए। पहिलो, तेस्रो, चौथो, पाँचौ, सातौ र नवौ होलमा‌ बर्डी को सफलता प्राप्त गरे। दोस्रो होलमा बोगी‌ र तीन पारको आठौ गोलमा डबल बोगी खेपे। यसपछि ११ औ, १२ औ र १६ औ होलको बर्डीमा ब्याक नाइन पनि तीन अन्डर ३३ मा पुरा गरे। नम्बर एक गल्फर भुवनले फ्रन्ट नाइन र ब्याक नाइन दुबै दुई-अन्डर ३४ मा सकाए। उनले तेसो, चौथो, १० औ, १३ औ र १६ औ होलमा बर्डी प्रहार गर्दा १४ औ होलमा बोगी खेपे।

दोस्रो दिनको समाप्तीमा छ-ओभर १ सय ५० स्कोर गरेका २२ प्रोफेसनल र आठ एमेच्योर खेलाडी कट बनाउन सफल भएका छन्। चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको छ। सुर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको छ। विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख दश हजार प्राप्त गर्नेछन्। शब्द तस्बिर गल्फ नेपाल